अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM Merolagani

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ । 

यो भिसालाई नन इमिग्रसेन भिसा पनि भनिन्छ । अमेरिकाले प्रत्येक वर्ष एच वन बी भिसा अन्तर्गत कुल ८५ हजार जनाको लागि आवेदन माग गरेकाे हुन्छ । यो प्रत्येक वर्षको मार्च १ देखि मार्च १७ गतेसम्म खुला गरिन्छ । भिसामा आवेदन करिब तीन सातासम्म मात्र दिन सकिनेछ ।

अमेरिकामा रहेका कम्पनीहरूले आफ्ना कम्पनीमा विदेशी सक्षम कर्मचारी नियुक्त गर्नु नै याे भिसाकाे मुख्य उद्देश्य रहेकाे हुन्छ ।

८५ हजार आवेदनमध्ये ६५ हजार विश्वभरका नागरिकका लागि कोटा तोकिएको छ । २० हजार जना भने अमेरिकामा पढ्ने अन्तरराष्ट्रिय विद्यार्थीहरुका लागि छुट्याइएको हुन्छ । यस्तै,हरेक वर्ष इडिभी भिसामार्फत ५० हजार विदेशी नागरिकहरूलाई अमेरिका लैजाने गरिएकाे छ। 

कसले दिने आवेदन ?

एच वन बी भिसाका लागि स्नातक उत्तिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । जसमध्ये विशेषगरी, प्राविधिक शिक्षा हासिल गरेकाहरु पर्दछन् । आईटी, स्वास्थ्यलगायत विषयमा अध्ययन गरेकाहरुले यस भिसा पाएर अमेरिका जाने संभावना धेरै रहेको हुन्छ ।

विशेषगरी आईटी वा कम्प्युटर क्षेत्र तथा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिने गरेको छ । यसबाहेक अकाउण्टेण्ट, आर्किटेक्ट्स, डेन्टिस्ट, पत्रकार, सम्पादक, व्यापारी, कानुन व्यवसायी, स्वास्थ्यकर्मीहरु, चिकित्सक, नर्स, वैज्ञानिक, शिक्षक, प्राध्यापक, प्राविधिक प्रकाशनका लेखक, बजार अनुसन्धान विश्लेषक,व्यवस्थापन परामर्शदाता, वित्तिय विश्लेषक, इन्जिनियर, मनौचिकित्सक, सर्जन लगायतका लागि यो भिसा खोलिएको हुन्छ ।

तर फेसनसँग सम्बन्धित मोडलहरुले भने यो भिसाका लागि उपयुक्त मानिँदैन ।

यस भिसाका लागि मुख्य गरी स्पोनसोर एमाजोन, एप्पल, गुगल, फेसबुक, इनटेल, माइक्रोसफ्ट, उबर, इनफोसिस जस्तै ठुला आईटी कम्पनीहरुले गर्ने गरेका छन् । सूचना प्रविधि जान्ने श्रमिकहरुको कमी भएकाले पनि अमेरिकाले यस्ता श्रमिकहरु नेपाल जस्ता राष्ट्रबाट लैजाने गरेको छ ।

यो भिसामा गएकाहरुले अन्य कामहरु गर्नु पर्दैन । यो भिसा उच्च स्तरका प्रतिभाशाली व्यक्तिहरुका लागि रहेकाे छ। अध्ययन सकेर शिप भएका व्यक्तिहरुलाई अमेरिकाले लैजान यस्ताे भिसामार्फत आह्वान गर्ने गरिएकाे हो ।

आधारभूत शिक्षा मात्र नभएर अनुभवका आधारमा पनि यस भिसाका लागि उपयुक्त आवेदक अमेरिकाले छान्ने गरको छ । 

कसरी चाल्ने प्रकृया ?

नेपालबाट प्रत्येक वर्ष ८०० देखि एक हजार २०० जनासम्म एच वन बी भिसामा अमेरिका जाने गरेका छन् । यो भिसाको समयावधि तीन वर्षकाे भएपनि ६ वर्षसम्म बढाउन पाइन्छ । ६ वर्षपछि भने कम्पनीले समय थप गरेमा ग्री कार्डको लागि पनि पहल गर्न सकिनेछ । यस भिसाबाट डिपेन्डेन्टमा पनि श्रीमान/ श्रीमती र २१ वर्ष मुनिका अविवाहित छाेराछाेरी लैजान सकिनेछ । याे भिसाकाे लागि कुनै कन्सल्टेन्सी वा दलालमार्फत अप्लाई गर्नु पर्ने छैन ।

यो भिसामा आवेदन दिनका लागि सुरुवातमा आवेदकको सामान्य जानकारी सहितको फारम भर्नु पर्दछ । त्यसपछि छनोट प्रक्रिया सुरु हुन्छ ।

अमेरिकाका कुन कुन कम्पनीले आवेदन मागेको छ त्यसबारेमा जानकारी लिइनुपर्छ । कम्पनीले आवेदन स्विकार्ने भएपछि अमेरिकाको नागरिकता तथा अध्यागमन सेवामा निवेदन दिइन्छ । चिट्ठा प्रकृयामा छनोट भएपछि मात्र कम्पनीले एच वन बी स्विकृत गर्नकोलागि थप प्रकृया चाल्छ । त्यसपछि डिएचएल वा फेडेक्स गरेर कागजपत्रहरु जस्तै एच वन बी अप्रुभल नोटिस अर्थात् एच वनबीमा छनोट भएको सूचना र एलसीए पाईन्छ ।

तर कम्पनीले आवेदकलाई स्वीकार्छ नै भन्ने हुँदैन । कम्पनीले आवेदकको निवेदन अस्वीकार पनि गर्न सक्छ ।

त्यसपश्चात नेपालस्थित अमेरिकी दुतावासमा गई स्पोन्सर गरिएको चिठी लिएर अपोइन्टमेन्ट अथवा अन्तर्वाताको लागि समय लिनुपर्छ । आवश्यक कम्पनीका कागजात दुतावासले मागेपछि त्यसमा कम्पनीले सहयोग गर्ने गरेको छ ।

म्याद सकिनु ६ महिना अघिकै पासपोर्ट, एचवनबी अप्रुभल कागजात, एलसीए कागजात, सीभी तथा रिज्युमको कागजपत्र दुतावासमा पेश गर्नु पर्ने हुन्छ ।

यसमा आवेदन दिन सुरुवातमा कुनै खर्च लाग्दैन । तर प्रकृया चाल्नका लागि एक हजार ४४० डलर तिर्नुपर्ने हुन्छ । तर भिसा नपाएको खण्डमा यो शुल्क फिर्ता हुनेछ ।

 

comments powered by Disqus

जीवन विकास लघुवित्तको लाभांश संशोधन, कति दिने भयो बोनस?

Mar 05, 2023 10:29 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।