भोला फुड्सः १५० रुपैयाँमै घरको खाना खुवाउने आमा छोरीको ‘लञ्च बक्स’

Mar 02, 2023 06:50 PM Merolagani

ज्याेति शाह

आजभोली सहरमा अवसर र जिविकोपार्जनको भागदौड ब्यापक छ । घरबाट काममा जानलाई बढेको हतारो देख्दा लाग्छ खाना बनाउने समय अब धेरैलाई मिल्दैन/हुँदैन । यस्तै भागदौडमा हुनेकालागि अफिसमा नै खाना पुर्याउने गरेको छ भोला फुड्सले ।

तपाईँहरु साथीभाई वा आफन्तसँग जमघटमा हुनुहुन्छ । पिउँदा पिउँदै मदिरा सकियो तर रात छिपिसकेकाले अब थप किन्न कता जाने ? मध्यरातमा सबै मदिरा पसल र रेष्टुरेण्ट बन्द भइसकेको हुँदा खान पिनमा समस्या हुनेलाई भोला फुड्सले तपाईँ भएकै ठाउँमा खाना, मदिरा तथा चुरोट ल्याइदिन्छ ।

सन् २०१३ मा "द लञ्चबक्स" नामको हिन्दि कथानक चलचित्र रिलिज भएको थियो । क्रिटिक्सका हिसाबले यो चलचित्र सफल पनि साबित भयो र धेरै अवार्ड पनि पाएको थियो । इरफान खान, निमरत कौर र नावाजुद्दिन सिद्धिकी मूख्य भूमिका रहेको यो चलचित्र लञ्च बक्सकै कथामा आधारित छ । एक गृहणीको खाना पकाउने शौख र एक कर्मचारीकोमा खानाको डब्बा साटिएर आउँदाको परिवेश वरपर यो कथा घुम्छ । सोही लोकप्रिय चलचित्रको लञ्च बक्स जस्तै छ "भोला फुड्स"।

लक्ष्मी स्थानस्थित भोला फुड्सको भान्सामा बिहानदेखि खाना पकाउने सुरसार हुन्छ । घरको ताजा भात, दाल, सिजनल तरकारी, साग, अचार र सलाद टिफिन डब्बामा प्याक हुन्छ र साढे १० बजेसम्म ग्राहकको कार्यालयसम्म पुग्छ । यो टिफिन बक्समा बुधबार मांसाहारीका लागि मासु र साकाहारीको लागि पनिर पनि बन्छ । त्यसबाहेक सातामा दुई पटक अण्डाका परिकार पनि पस्किने गरिएको छ ।

"खानाको साटोमा खाजा खानेका लागि हामी खाजा पनि दिन्छौं, "भोला फुड्सकी सञ्चालक श्वेता पाण्डे भन्छिन् । भोला फुड्सले काठमाडौं उपत्यका भित्र ग्राहककै कार्यालयमा खाना पुर्याउने गरेको छ ।

यसका साथै भोला फुड्सले खाना वा खाजा डेलिभर गर्ने गरेको छ । बेलुकी ५ बजेदेखि बिहानको ३ बजेसम्म पनि मदिराका साथै चुरोट पनि भोला फुड्सले पुर्याउने गरेको छ ।

भोला फुड्सबाट खाना, खाजा तथा मदिरा अर्डर गर्नको लागि भोला फुड्स नामक टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत अर्डर गर्न सकिन्छ । यी पेजहरुमा दिइएको नम्बरमा फोन गरेर आफूले चाहेको खाना मगाउन सकिने श्वेताको भनाई छ ।

१५० मै घरको खाना

सामान्यतया, अहिले कुनै रेष्टुरेण्टमा सादा खानाकै २०० रुपैयाँ पर्दछ । त्यसमाथि स्वास्थ्यका हिसाबले अनेक शंका उपशंकाले घेरियर खाना खाने गर्नुपर्छ । तर भोला फुड्सले घरमा बनेको ताजा, सफा र स्वस्थ खाना मात्र १५० रुपैयाँमा दिने गरेको संचालक श्वेताको भनाई छ । भोला फुड्सको सब्सक्रिप्सन लञ्च बक्स लिनको लागि मासिक रुपमा एक ग्राहकले तीन हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

श्वेताका अनुसार दिउँसोको खानामा निः शुल्क डेलिभरी हुने गरेको छ । तर राती हुने अर्डरमा भने स्थान हेरेर १५० देखि २०० रुपैयाँसम्म लिइने गरेको श्वेताले जानकारी दिइन् । हाल भोला फुड्समा श्वेता र आमा रीता बाहेक अन्य ८ जना पनि अहोरात्र खटिएका छन् ।

मासिक रुपमा भोला फुड्सबाट राम्रै कमाई हुने गरेको श्वेताको दाबी रहेको छ । अहिले सस्तोमा राम्रो खाना खुवाउनमा नै श्वेता र उनको समुह केन्द्रित रहेको छ । "१५० रुपैयाँमा खाना खुवाएर मैले ८ जना कर्मचारीलाई सेवा सुविधा दिन सकिराछु । त्यो नै मेरो लागि नाफा हो," उनी विश्वस्त सुनिन्छिन् । "मेरो लागि सबै ग्राहक एउटै हो । भोक सबैलाई लाग्छ । भोक लाग्ने जति सबै मेरा ग्राहक हुन्," श्वेता मुस्काउँदै सुनाउँछिन् ।

बुवाको निधनपछि विरासत धान्दै श्वेता

व्यवसायी विरेन्द्र बहादुर पाण्डेकी छोरी हुन् श्वेता पाण्डे । कोरोना महामारीमा बुवा विरेन्द्रको निधन भएपछि श्वेताकी आमा रीता राणा पाण्डे गरिब दु:खीलाई खाना खुवाउन अनेक अनाथ आश्रम तथा वृद्धाश्रम जाने गर्थिन् । आमाको दिन दु:खीलाई खाना खुवाउने इच्छा देखेर श्वेताको मनमा प्रश्न जाग्यो। "दु:ख परेको मान्छेलाई आफ्नो पकेटबाट कति दिन खुवाउन सकिन्छ र ? आमाछोरी मिलेर खानाकै व्यापार सुरु गरौँ न । त्यहाँबाट आएको नाफा बरु खानकै माध्यमबाट फेरि समाजलाई नै फिर्ता गरौँला भन्ने सोचेर सुरु गरेका हौं ।" यसरी घरकै भान्साबाट खाना पकाउने कामलाई आमाछोरीले व्यवसाय बनाए । योजना बनाएर होइन यी दुईले अकस्मात आएको आईडियालाई समातेका थिए ।

"कहिले सुरु गर्ने ? भन्ने पनि सोचेनौं । तीज नजिकिएको थियो । तीजमा स्टल राखौं, जे होला, होला भनेर आँट गरेँ ," उनले बताइन् । वल्र्ड ट्रेड सेन्टर र एफबीनमा खाना धेरै मन पराइएपछि श्वेतामा शाहस थपियाे। धेरै बिक्री भयो र थप बल मिल्यो । भोला फुड्स भदौ महिनाबाट सन्चालनमा आएको हो।

उनका सहयोगी सबिता मगर र सुदिपकाे ठुलो मेहनत र साथले भोलाका सुरुवात भयो । "आगो २४ घण्टा नै बल्नुपर्छ, मेरो विचार यति हो," श्वेता दृढ सुनिन्छन् ।

यस्तै, केहि दिनपछि श्वेताले एक दिन आफ्नी साथी भेट्ने क्रममा उनको कार्यालयमा खुवाइने खानाका बारेमा बुझिन् । हनी अग्रवाल र उनका कर्मचारीहरुले खाइरहेको खानाप्रति सन्तुष्ट नभएको थाहा पाएपछि उनले आफ्नी आमा र सहयोगीले बनाएको खाना खुवाउने प्रस्ताव राखिन् र उक्त प्रस्ताव हनीले स्विकार पनि गरिन् । "यसरी द लण्ड्री ब्यागबाट हामीले काम पायौं र त्यो नै मेरो पहिलो प्रोजेक्ट थियो," श्वेता सम्झिन्छिन् । 

सुरुवातमा श्वेताले करिब १० लाख रुपैयाँको लगानी भोला फुड्समा गरेकी थिइन् । "अहिले कम्पनीको खर्च र पूँजी दुबै बढेको छ । तर व्यापार पनि बढिरहेको छ," उनी भन्छिन् ।

भारतबाट एमबीए गरेकी श्वेताले अन्य नाम चलेका कम्पनीमा पनि कामको अनुभव बटुलेकी छिन् । यद्धपी उनको मूख्य प्रेरणाको श्रोत बुवा रहेको उनी खुलाउँछिन् । जसकारण बुवाको बोलाउने नामबाट नै उनले कम्पनीको नाम भोला फुड्स राखिन् । श्वेता भन्छिन्, "बुवाको पनि नाम राखौं न, म एक्ली छोरी नाम अघि बढाउन पर्याे नि भनेर बुवाकै नाम दियौं ।"

निकै संघर्ष गरेर व्यवसायमा सफल भएका विरेन्द्र बहादुर पाण्डेको जीवनको पाटो सुनाउँदै उनी भन्छिन्, "म बुवाबाट धेरै प्रभावित थिएँ । मैले विरासत धान्न कोशिस गरिरहेकी छु । बिरगंजको त्रिमुर्ति सिनेमा हलका संचालक विरेन्द्र पछिल्लो केहि वर्षयता शेयर कारोबारमा व्यस्त थिए ।"

बुवाको निधनपछि श्वेताले बुवाले छोडेर गएको शेयरलाई पार लगाउन बजारमा पनि हाम्फालिन् । तर बिस्तारै नाफा निकालेर आमाको सल्लाहमा उनी शेयर बजारबाट निस्किइन् । हाल श्वेतासँग केहि कम्पनीको मात्र शेयर छ ।

सिनर्जी प्लस नामक डिजिटल मार्केटिङ एजेन्सीकी पनि श्वेता पाण्डे संस्थापक हुन् । सो कम्पनीमा पनि पाँच जना कार्यरत छन् । भोला र सिनर्जीले पाएको सफलताको श्रेय श्वेता आफ्नो टिमलाई दिन्छिन् ।

हरेक महिना कम्पनीले ग्रोथ गरिरहेको श्वेता सुनाउँछिन्, "अहिले हामी धेरै कम्पनीमा इन्डिभ्युजल्ली पठाउँछौं । अहिले हरेक दिन १५० टिफिन अफिसहरुमा जान्छ ।" भोला फुड्स मन पराउनुकाे कारण स्वस्थ्य, ताजा र स्वाद मिठो भएको उनको दाबी छ । महालक्ष्मीस्थानमा रहेको भोला फुड्सको कार्यालय अब छिट्टै मध्य बानेश्वरमा रहेको श्वेताकै घरमा सर्दैछ ।

बिस्तारै दिउँसोको लागि खाजाहरुका आईटम पनि थप्दै लैजाने योजना पनि छ । "डेलिभरीको एक्स्पान्सन प्लानिङ पनि गर्दैछौं," श्वेताले मेरोलगानीलाई बताइन् । ग्राहकहरुले गरेको विश्वास र मायाका कारण आफूमा थप जिम्मेवारी बढेको श्वेताको अनुभव छ ।

"खानाको गुणस्तर र सफाईमा कुनै सम्झौता गर्नु नपरोस्, कर्मचारीको सन्तुष्टिमा ध्यान दिन सकौं भन्ने नै मेरो मूल्य लक्ष्य हो, "श्वेता बताउँछिन् । वातावरणको हितलाई ध्यान राख्दै प्याकेजिङमा विशेष ध्यान दिने गरिएको श्वेताले दाबी गरिन् ।

"मामुको खाना खुवाउने इच्छा र मेरो रोजगारी दिने सोंचले नै भोला फुड्सको जन्म भएको हो ।" अबको डेढ महिनाभित्र खाजा, मदिरा तथा चुराट रातमा मात्र नभएर दिनमा पनि डेलिभर गर्न सुरु गर्ने श्वेताको योजना छ । बिस्तारै, फ्रोजन फुड्स, प्याकेज्ड मसलाहरु हुँदै नयाँ व्यवसाय भोला फुड्सलाई असिमित रुपमा फैलाउने उनको उद्देश्य छ ।

 

comments powered by Disqus

जीवन विकास लघुवित्तको लाभांश संशोधन, कति दिने भयो बोनस?

Mar 05, 2023 10:29 AM

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।