राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मशान्तसम्मको तथ्याँक अनुसार माच्छापुच्छ्रे बैंकको पूँजीकोष अनुपात सबैभन्दा कम ८.६४ प्रतिशत रहेको छ। केन्द्रिय बैंकको व्यवस्था अनुसार ८.५० प्रतिशतभन्दा कम पूँजीकोष कायम गर्न पाइदैन।
यस्तै प्रभु बैंकको पनि पूँजीकोष अनुपात ८.९० प्रतिशत छ भने कुमारी बैंकको पनि ८.९१ प्रतिशत रहेको छ। यी बाहेकका बैंकहरुको भने प्राथमिक पूँजीकोष ९ प्रतिशत भन्दा माथि छ।
बैंकहरुले कर्जा प्रवाह गर्दा केन्द्रिय बैंकले तोकेको जोखिमभार अनुसार आफ्ना पूँजी पनि उपयोग गर्नुपर्ने हुन्छ। थप कर्जा लगानी गर्दा उनीहरुको पूँजीकोष अझ घट्दै जाने छ। जसले गर्दा राष्ट्र बैंकको कारवाहीमा पर्न सक्ने सम्भावना रहन्छ। त्यसैले गर्दा पनि अहिले यी बैंकहरुले कर्जा विस्तारमा जोड दिएका छैनन्।
यस बाहेक एनआइसी एशिया बैंकको प्राथमिक पूँजीकोष ९.१२ प्रतिशत छ भने लक्ष्मी बैंकको ९.३१ प्रतिशत, सनराइज बैंकको ९.३० प्रतिशत र सानिमा बैंकको ९.४२ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चाटर्ड बैंकको प्राथमिक पूँजीकोष सबैभन्दा धेरै १२.३८ प्रतिशत रहेको छ भने कृषि विकास बैंकको पनि १२.७१ प्रतिशत रहेको छ।
- पूँजीकोष नपुर्याउदा के कारवाही हुन्छ?
पूँजीकोष सम्बन्धि विवरण बैंक तथा वित्तीय संस्थाले हरेक महिना राष्ट्र बैंकमा पठाउनु पर्ने हुन्छ।
बैंकले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेमा सो आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण गर्न पाइदैन।
यसका साथै केन्द्रिय बैंकले शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम नयाँ शाखा खोल्न रोक लगाउने तथा बैंकका सञ्चालकको भत्ता तथा सुविधा र प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापनको तलब भत्ता तथा सुविधा बृद्धिमा रोक लगाउन सक्ने छ।
राष्ट्र बैंकको कारवाहीमा परिने डरले पनि धेरै बैंकले बैंकमा लगानीयोग्य रकम हुँदा हुँदै पनि कर्जा लगानी रोकेर रिकभरीमा केन्द्रित भएका छन्।
- गत वर्ष पनि ३ बैंक परेका थिए कारवाहीमा
गत आर्थिक वर्षमा पनि प्राथमिक पूँजीकोष पुर्याउन नसकेकाे कारण ३ बैंक राष्ट्र बैंकको कारवाहीमा परेका थिए।
गत वर्ष एनआइसी एशिया बैंक, लक्ष्मी बैंक र माच्छापुछ्रे बैंक राष्ट्र बैंकको कारवाहीमा परेका थिए। पूँजीकोष नपुर्याउदा यी तीनवटै बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न पाएका थिएनन्।