यस्तै “आर्टिफिसियल इन्टेलिजेन्स” को प्रयोग नेपाली शेयर बजारमा भएको पाइएको छ। विशेषगरी दोस्रो बजारमा हुने शेयर किन/बेचमा यसको प्रयोग भएको पाइएको हो। नेपालको शेयर बजारमा शेयर खरिद वा बिक्री गर्नु पर्यो भने लगानीकर्ता स्वयम् वा ब्रोकर कम्पनीका अधिकारीहरूले मात्रै खरिद/ बिक्री आदेश राख्न सक्छन्। आदेश जसले राखे पनि मानवले नै राख्नु पर्छ। आदेश राख्न मेसिन वा कुनै सफ्टवेयरको प्रयोग गर्न पाइँदैन। मसिन वा सफ्टवेयर मार्फत आदेश राख्नु गैर कानुनी हो। तर पछिल्लो समय नेपालमा “एल्गो ट्रेडिङ” मार्फत आदेश दाखिला गर्ने गरेको खुलेको छ।
के हो “एल्गो ट्रेडिङ” ?
एल्गो ट्रेडिङ भनेको कम्प्युटर जेनेरेट अर्डर प्लेसिङ प्लेटफर्म हो। सजिलो तरिकाले बुझ्नु पर्दा मानिसको निर्देशनमा अर्डर हाल्ने प्राविधिक प्रक्रिया हो। यसलाई मानिसको निर्देशनमा चल्ने रोबोट भन्दा फरक पर्दैन। जसरी रोबोर्टलाई जे जे गर्न भनेर प्रोग्रामिङ गरिएको हुन्छ। उसले त्यही त्यही काम गर्छ। त्यस्तै शेयर बजारमा भने यसलाई सबैभन्दा छिटो अर्डर हाल्ने हेतुले प्रोग्रामिङ गरिएको हुन्छ। पहिले नै यो यो कम्पनीको, यति यति कित्ता शेयर किन्ने र बेच्ने भनेर अर्डर हालेपछि, यसले एकै पटकमा धेरै कम्पनीको हजारौँ कित्ताको अर्डर फरक फरक मूल्यमा हाल्ने गर्छ। त्यो पनि माइक्रो सेकेन्डको स्पिडमा। जुन मानिस मार्फत असम्भव प्राय हुन्छ। त्यसको मदतले शेयर बजारमा खरिद र बिक्रीको अपरच्युनिटी सबैभन्दा पहिले लिन सकिन्छ।
दोस्रो बजारमा के का लागि प्रयोग भयो ?
नेप्सेमा भर्खरै सूचीकरणमा आएका कम्पनीको शेयरमा सबैभन्दा बढी प्रयोग हुने गरेको पाइएको छ। निश्चित मूल्य नआउन्जेल शेयरको प्राइसमा लगातार सर्किट लाग्ने तर सर्किट लागुन्जेल एकै व्यक्तिले मात्रै शेयर पाउने अवस्था हुन्छ। किनकि उसले भन्दा छिटो अर्डर अरूले राख्न सक्दैन। पछिल्लो समय दोस्रो बजारमा ब्रोकर नम्बर ५७ मार्फत कारोबार गर्ने दुई लगानीकर्ताले मात्रै त्यसरी शेयर पाउने अवस्था आएपछि उक्त विषयको खुलासा भएको थियो। जसको बारेमा नेपाल स्टक एक्सचेन्जले अनुसन्धान नै अघि बढाएको थियो। नेप्सेले त्यसरी कारोबार गरिरहेकालाई सोधपुछ गर्दा कारोबार गर्नेहरूले समेत स्वीकार गरेका थिए। त्यसको प्रयोग गरेको तर प्रयोग गर्न हुने/नहुने विषयमा भने आफूलाई थाहा नभएको समेत भनेका छन्।
“एल्गो ट्रेडिङ” को लागि कुन ब्राउजर प्रयोग गर्न सकिन्छ ?
खासगरी टिएमएसको पछाडि बसेर यसले काम गर्छ। नेपालमा चल्ने ब्राउजरहरू नै प्रयोग गर्छन्। त्यसमा विभिन्न एक्सटेन्सनहरू प्रयोग गरिन्छ। जस्तै यसमा “टेम्पल मङ्की” भन्ने प्रयोग गरेको पाइएको छ। त्यस्ता अरू पनि छन्। जुन विश्वमा प्रचलित छन्। यी भनेका स्क्रिप्ट लेख्ने टुल्सहरू हुन्। धेरै मुलुकले “टेम्पल मङ्की” लाई प्रतिबन्ध लगाएको छ। त्यसमा कुन स्क्रिप्ट किन्ने भन्ने कुराचाहिँ मानिसले नै लेख्नु पर्छ। तर अर्डर प्लेस भने उसले स्वचालित रूपमै गर्छ।
यस्तो टुल्स धेरैले प्रयोग गरेका हुन सक्छन्
नेप्सेको अगाडि आएको यो नै पहिलो केस हो। यस्ता खाले टुल्स धेरैले प्रयोग गरेको आशङ्का छ। तर नेप्सेले यसलाई गुपचुप नै राखेको छ। अहिलेसम्म अनुसन्धान गरिरहेको नेप्से उक्त विषयमा अझै निष्कर्षमा पुगेको छैन।
त्यसलाई नेप्सेले पत्ता लगाउन सक्दैन ?
नेप्सेले चाह्यो भने तुरुन्तै पत्ता लगाउन सक्छ। टिएमएसमा कसले कति समयमा कुन अर्डर राख्यो भन्ने सबै रेकर्ड हुन्छ। एक सेकेन्डमा थुप्रै अर्डर राखेको देख्ने बित्तिकै त्यो मानिसले होइन भनेर अनुमान गर्न सकिन्छ। किनकि एउटा मानिसले एक सेकेन्डमा एउटा अर्डर राख्नु पनि निक्कै ठुलो मान्नु पर्छ। एक सेकेन्डमै सयौँ अर्डर आउने बित्तिकै त्यसलाई मानिसले हालेको भन्नै मिल्दैन। त्यसले गर्दा कुनै निश्चित सेकेन्डको समयमा राखिएको अर्डरलाई सर्ट लिस्ट गर्यो भने पत्ता लगाउन सकिन्छ। तर इभेष्टिकेसन कसले गर्ने ?
“टेम्पल मङ्की” प्रयोग गरेर टिएमएस प्रवेश पाउन सम्भव छ ?
यही नै सबैभन्दा ठुलो प्रश्न हो। जुन अहिलेसम्म अनुत्तरित छ। “टेम्पल मङ्की” प्रयोग गरेर अर्डर राख्न सकिन्छ। तर त्यसलाई टिएमएस भित्र प्रवेश गर्न एपिआइ वा टिएमएस सफ्टवेयरको लुप होल क्रयाक नगरी प्रवेश पाउन असम्भव छ। कसरी टिएमएस भित्र प्रवेश गर्यो। त्यो विषय नै सबैभन्दा खोजको विषय हो। त्यसलाई नेप्से र नियामकले पत्ता लगाएर उजागर गर्नु पर्छ। अन्यथा यस्तै खाले प्रविधिसँग सम्बन्धित सुरक्षाको निक्कै ठुलो खतरा हुन सक्छ। अहिले प्रयोगमा आइरहेको प्रविधिमा के भएको थियो ? त्यो विषयमा गरिएको अनुसन्धान कहाँ पुग्यो ? भनेर नेप्से र नियामकले खुलासा गर्नु पर्छ। किनकि शेयर बजारमा खरिद/बिक्री आदेश राख्ने अधिकार मानिसलाई मात्रै छ। मसिन वा सफ्टवेयर मार्फत आदेश राख्नु गैह्रकानुनी हो। त्यसलाई मार्केट म्यानुपुलेसन टुल्सको रुपमा लिइन्छ।