वित्त उपसमूहमा करेक्सन, विकास बैंक भने उच्च बढ्यो

Jul 04, 2024 03:09 PM Merolagani


साताको अन्तिम कारोबार दिन वित्त उपसमूहका परिसूचकमा करेक्सन देखिएको छ भने विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। अघिल्लो कारोबार दिन ६ प्रतिशतभन्दा बढी बढेको वित्त उपसमूहको परिसूचक यस दिन ०.५९ प्रतिशत घटेको छ।

बिहीबार नेप्से परिसूचक १५.४६ अंक बढेर २११९.६९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१३ स्टकको ८४ हजार १२६ पटकको कारोबारमा ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको ८४ हजार १२६ कित्ता शेयर खरिदबिक्री भएको छ।

१५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको आँखुखोला जलविद्युत कम्पनीको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको दोर्दी जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने महालक्ष्मी विकास बैंकको कारोबार रकम १७ करोड नाघेको छ।

comments powered by Disqus