जति जति कारोबार रकम बढ्दै छ। त्यति त्यति कम्पनीका शेयरधनी परिवर्तन हुँदै गएका छन्। दोस्रो बजारमा सूचीकृत कम्पनीका दुई दिनमै २८ प्रतिशतसम्म शेयर कारोबार भए। जुन अत्याधिक धेरै हो। जबकि दोस्रो बजारमा वर्ष भरिमा कुल सूचीकृत शेयरको २४.६५ प्रतिशत मात्रै शेयर कारोबारमा आउने गरेका थिए।
नेपाल स्टक एक्सचेन्जको २०८०/८१ को वार्षिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेप्सेमा कुल आठ अर्ब ३२ करोड कित्ता सूचिकृत थिए। जसमा वर्षभरि दुई अर्ब पाँच लाख कित्ता शेयर कारोबारमा आए। त्यो भनेको कुल सूचिकृत शेयरको २४.६५ प्रतिशत हो। त्यो पनि वर्ष भरिमा। अझै कुल सूचिकृत शेयरमा संस्थापक शेयर समेत जोडिएको छ। त्यो शेयरसँग तुलना गर्दा समेत वर्ष भरिको कुल शेयर कित्ताको कारोबार २५ प्रतिशतको हाराहारीमा मात्रै पुग्छ।
तर गएको दुई दिनमा नै केही कम्पनीको २८ प्रतिशत शेयरसम्म दोस्रो बजारमा आए। दोस्रो बजारमा सूचिकृत मैलुङ खोलाको दुई दिनमा १० लाख ५६ हजार कित्ता शेयर दोस्रो बजारमा खपत भए। यो भनेको उक्त कम्पनीको कुल सूचीकृत शेयरको २८.०८ प्रतिशत हो। दुई दिनमै यस कम्पनीमा २८ प्रतिशत शेयरधनी नयाँ आए। जसले अहिलेको मूल्य भन्दा यस कम्पनीको मूल्य अझै माथि जान्छ भन्ने अनुमान लगाउँदै उक्त कम्पनीमा प्रवेश गरे। यसै गरी त्यति नै सङ्ख्यामा अब यो कम्पनीको मूल्य यस भन्दा माथि जाँदैन भनेर पुराना शेयरधनी शेयर बिक्री गरेर कम्पनीबाट बाहिरिए। आउने दिनमा कायम हुने मूल्यले यस कम्पनीका पुराना शेयरधनीको अनुमान ठिक थियो या नयाँले गरेको अनुमान सही थियो भन्ने देखाउने छ।
![](https://images.merolagani.com/Uploads/Repository/638590813413272016.jpg)
यस्तै दुई दिनमा सबैभन्दा धेरै शेयरधनी बाहिरिएको अर्को कम्पनी तेह्रथुम पावर हो। त्यसका पनि २८.०९ प्रतिशत शेयर दुई दिनमै कारोबार भयो। मैलुङ खोलाको हकमा लकिङ पिरियड सकिएपछि त्यति धेरै कित्ता कारोबार भएको हो । तेह्रथुम पावरको लकिङ पिरियड खुल्ने डरले त्यसमा लगानी गर्ने पब्लिक शेयरधनी शेयर बिक्री गरेर बाहिरिएका हुन् भने लकिङ पिरियड खुले पनि कुनै असर गर्दैन भनेर त्यति नै सङ्ख्यामा नयाँ लगानीकर्ता उक्त कम्पनीमा प्रवेश गरेका हुन्। त्यो पनि आउने दिनमा कायम हुने मूल्यले कसको निर्णय ठिक भन्ने बताउने नै छ।
दोस्रो बजारमा सबैभन्दा धेरै शेयरधनी परिवर्तन हुने गरेको अर्को कम्पनी हो नेपाल फाइनान्स। फाइनान्स कम्पनीमा सबैभन्दा धेरै मूल्य रहेको नेपाल फाइनान्समा पनि दुई दिनमै २१.०७ प्रतिशतसम्म शेयर बजारमा आयो। यदि कम्पनीमा पनि पुराना शेयरधनी र नयाँ शेयरधनी प्रवेश तीव्र भइरहेको छ। पुराना शेयरधनी बाहिरिँदै जाने र हरेक दिन नयाँ शेयरधनीको प्रवेश यो कम्पनीमा तीव्र देखिएको छ। यसमा पनि नयाँ पस्नेहरूले जित्ने वा बाहिरिनेले जित्ने प्रतिस्पर्धा छ। त्यो पनि आउने दिनमा तय हुने मूल्यले निर्धारण गर्ने नै छ।
दोस्रो बजारमा जति धेरै कम्पनीमा नयाँ शेयरधनीको प्रवेश हुन्छ। त्यति नै धेरै उक्त कम्पनीको मूल्य बढ्न टेवा मिल्ने बताइएको छ। “दोस्रो बजारमा जब कुनै पनि कम्पनीको शेयरमा नयाँ मूल्य निर्धारण हुने क्रममा नयाँ लगानीकर्ताको प्रवेश हुन्छ। त्यसले कम्पनीको नयाँ मूल्य स्थिर बनाउन टेवा दिने गर्छ। किनकि १० प्रतिशत शेयरको मूल्य नयाँ कायम भई सक्यो भने उक्त शेयर त्यो मूल्य भन्दा कममा आउने सम्भावना निक्कै कम हुन्छ। किनकि १० प्रतिशत शेयरको आज कायम भएको मूल्य १० प्रतिशत नबढी सेलमा आउँदैन। त्यसले शेयरमा ह्यान्ड चेन्ज हुनुले ठूलो अर्थ राख्छ। तर कहिलेसम्म र कति मूल्यसम्म ह्यान्ड चेन्ज हुँदा शेयर किन्ने र बिक्री गर्ने भन्ने कुरा चाहिँ लगानीकर्ता स्वंयमले नै निर्णय गर्नु पर्छ। किनकि कुनै पनि शेयरको मूल्य सधैँ बढी रहँदैन निश्चित मूल्यमा पुगेपछि त्यसमा करेक्सन आउँछ आउँछ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले मेरो लगानीसँग भने।
दुई दिनमा सबैभन्दा बढी आकर्षण देखिएका २० कम्पनीको सूची मेरो लगानीले निकालेको छ। जसमा सूचीकृत कम्पनीका कुल फ्लोटेड शेयरको दुई दिनमा कति प्रतिशतसम्म शेयर कारोबार भए भनेर हेरिएको छ। जसले गएको दुई दिनमा सबैभन्दा बढी नयाँ लगानीकर्ताको आकर्षण कुन कम्पनीमा देखियो भन्ने उजागर गर्छ। तर सूचीमा भएका कम्पनीमा जसरी नयाँ लगानीकर्ताको प्रवेश भएको छ। त्यो भने आउने दिनमा ती कम्पनीले निर्धारण गर्ने मूल्यले सही र गलत प्रस्ट्याउने छ। यदि ती कम्पनीले आउने दिनमा हिजो र आजको मूल्य भन्दा बढी मूल्य कायम गर्न सके पुराना शेयरधनीबाट बुल बजारमा नयाँ प्रवेश गर्ने लगानीकर्ताले जितेको साबित हुने छ भने यदि मूल्य तल खस्किए पुराना लगानीकर्ता बाठा साबित हुने छन्।
![](https://images.merolagani.com/Uploads/Repository/638590789136937278.png)