उनले आरोप मात्रै लगाएनन् त्यस विषयमा छानबिन गर्न एक समिति समेत बनाएको र सरकार परिवर्तन पछि उक्त विषय अन्योलमा रहेको उजागर गरेका थिए।
उनले आरोप लगाए लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक्सनमा आएको छ। सोमबार अख्तियार अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छापा मारेको छ। आयोगले नेप्सेका प्राविधिक विभागका दुई कर्मचारीको मोबाइल जफत गरेर लगेको छ। प्राविधिक विभागका कर्मचारी प्रभाकर घिमिरे र निशा तिम्सिनाको मोबाइल जफत गरेर लगेको हो।
यस अघि पनि तीनै दुई कर्मचारीको विषमा अख्तियारमा उजुरी परेको थियो। त्यस विषयमा पटक पटक उनीहरूलाई अख्तियारले सोधपुछ गरिरहेको थियो। अझै पूर्वअर्थमन्त्रीले मिनी संसद मै नेप्सेका कर्मचारी इनसाइडर ट्रेडिङमा संलग्न हुने गरेको भनेपछि अख्तियार पुनः एक्सनमा आएको हो।
यस विषयमा सञ्चार माध्यममा समेत खबर आएका छन्। बिजनेस अनलाइन बिजमाण्डु नेप्से स्रोतको हवाला दिँदै लेख्छ “ नेप्से स्रोतका अनुसार कोभिड १९ को समयमा नेप्सेका दुई कर्मचारीको आफन्तले कारोबार गरेको भेटिएको थियो। नेप्सेको आइटी विभागका दुई कर्मचारीमध्ये एक जनाको बहिनी र एक जनाको श्रीमानले दुई लाख र चार लाख रुपैयाँको कारोबार गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो” तर उसले ती कर्मचारीको नाम भने उक्त समाचारमा उल्लेख गरेको छैन। समाचारको अन्तमा बिजमाण्डु लेख्छ “अनुसन्धान एकै घरमा रहेका परिवारका सदस्यले शेयर कारोबार गरेको देखिएको थियो। तर, त्यो कारोबार गर्ने कर्मचारीलाई कारबाही भने भएको छैन।”
बजार सञ्चालकका कर्मचारी नै शेयर बजारको इनसाइडर ट्रेडिङमा संलग्न हुनुले शेयर कारोबारको पारदर्शिता माथि नै प्रश्न उठेको छ। दैनिक अर्बौँ रुपैयाँको शेयर कारोबार गराउने बजार सञ्चालककै कर्मचारी इनसाइडर ट्रेडिङमा संलग्न हुनुले सम्पूर्ण लगानीकर्ताले गर्ने कारोबार नै कति सुरक्षित छ भन्ने अर्को प्रश्न खडा भएको छ। आम सर्वसाधारण लगानीकर्ता यस्ता खबरले त्रसित हुन पुगेका छन्।
इनसाइडर ट्रेडिङको गम्भीर आरोप र छानबिन चलिरहँदा समेत ती कर्मचारीलाई कुनै कारबाही गरिएको छैन। बरु उनीहरू अहिले पनि नेप्सेको प्राविधिक विभागमा नै निर्बाध काम गरिरहेका छन्। जबकि अख्तियारको अनुसन्धान पुरा नहुन्जेल सम्म ती कर्मचारीलाई उक्त विभागमा काम गर्न नदिने व्यवस्था नेप्सेले गर्नु पर्ने बताइएको छ। “इनसाइड ट्रेडिङको त्यति ठूलो गम्भीर आरोप लाग्दा समेत नेप्सेले ती कर्मचारीलाई काम गर्न दिनु अझै धेरै जोखिम निम्त्याउनु हो। उनीहरुलाई अनुसन्धान नसकिएसम्म काम गर्न नदिनु नै बेस हुन्छ” बजारका एक जानकारले मेरो लगानीसँग भने।