अझै त्यसमा कर्पोरेट सेक्टर समेत बजारमा इन्ट्री गर्ने तयारीमा छ। “मौद्रिक नीति पछि संस्थागत लगानीकर्ताको लोन डिमाण्ड असाध्यै बढेको छ। व्यक्तिगत ऋण लिन चाहनेहरूको पनि त्यति नै धेरै चासो बढी रहेको छ,” माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले मेरो लगानी सँग भने।
कोइराला थप भन्छन् “हिजोको दिनमा जसले लगानी गर्नु हुन्थ्यो उहाँहरु आउनु स्वाभाविक नै भई गयो। त्यो बाहेक नयाँ कम्पनी रजिस्ट्रेसन गरेर शेयरमा लगानी गर्ने भन्ने हिसाबले हामीले चिनेका धेरै कस्टमर लागि राख्नु भएको छ। त्यस हिसाबले हेर्दा अहिले जुन तरिकाले शेयर बजार बढिरहेको छ। त्यसले अझै केही समय निरन्तरता पाउने अनुमान गर्न सकिन्छ।”
![](https://images.merolagani.com/Uploads/Repository/638590813413272016.jpg NEW INV)
दोस्रो बजार अहिले बुलिस ट्रेन्डमा जाँदा शेयर बजार प्रति आम सर्वसाधारणमा चासो बढिरहेको छ। आफूसित भएको पैसा बजारमा लगानी गरिरहेका लगानीकर्ताले बैंकको पैसा समेत चलाउन थालेका छन्। हुन त यस अघि पनि शेयर बजारमा बैंकको पैसा नआउने गरेको हाेइन। तर मौद्रिक नीति पछि भने त्यो क्रम ह्वात्तै बढेको छ। यस अघि संस्थागत लगानीकर्ताले २० करोडसम्मको बैंक ऋण चलाउँदै आएका थिए। तर त्यो सीमा अहिले खारेज भएको छ। त्यसपछि ठूलो ठूलो शेयर लोनको डिमाण्ड बढ्न थालेको हो।
बैंकले पहिलेदेखि नै कारोबार गर्ने संस्थागत र व्यक्तिगत लगानीकर्तालाई अहिले सजिलै ऋण दिँदै आएका छन्। बैंकमा अहिले लगानीयोग्य रकम प्रशस्त भएकोले पनि ऋण माग्न आउने लगानीकर्तालाई फर्काउने गरेका छैन। जसले जति ऋणको डिमाण्ड गर्छ। त्यति नै ऋण बैंकहरुले दिइरहेको कोइरालाले बताए।
हुन त साउन महिनामा के कति ऋण दिए भनेर अहिले नै भन्न सकिने अवस्था छैन। तर जसरी ऋण गइरहेको छ। त्यस हिसाबले साउनमा भने वर्ष भरिको औसत ऋणको दुई गुणासम्म ऋण गई सकेको अनुमान गर्न सकिन्छ। जसले गर्दा नै दोस्रो बजारमा अहिले कारोबार रकम २० अर्ब माथि पुगेको हो। कारोबार रकम ह्वात्तै बढ्नुमा बैंकको ऋणले धेरै सहयोग गरिरहेको बैंकर बताउँछन्।
आउने दिनमा बैंकले शेयर ऋण दिने सूचीकृत कम्पनीहरूमा अलि बढी नै आकर्षण हुने अनुमान गर्न थालिएको छ। किनकि बैंकले फण्डामेन्टल अलि राम्रो भएका कम्पनीमा लगानी गर्ने गर्छन्। जसका कारण मार्जिन लोनका लागि योग्य कम्पनीहरूले तुलनात्मक रुपमा अलि बढी पैसा भित्र्याउने छन्।
बैंकमा संस्थागत व्यक्तिगत लगानीकर्ताले अहिले जसरी ऋणको माग बढिरहेको छ। त्यस आधारमा हेर्ने हो भने आउने दिनमा बैंकहरुको शेयरमा दिने ऋण लिमिट नै सकिने अनुमान समेत अहिले हुन थालेको छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकले आफ्नो प्राथमिक पूँजीको २ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था छ। यस अघिको बुलमा पनि केही बैंकले शेयर धितोमा प्रवाह गर्ने लिमिट सकिएको कारण शेयर धितोमा दिने ऋण नै बन्द गर्नु पर्ने अवस्था आएको थियो।
बैंकको पैसा बजारमा आउने क्रम बढ्दै जाँदा शेयर बजारको दैनिक औसत कारोबार रकम समेत ५० अर्ब नाघ्ने अनुमान गरिएको छ। हुन त अहिले नै शेयर बजारमा झन्डै ३० अर्बसम्मको शेयर किनबेच भएको रेकर्ड बनिसकेको छ। तर सूचकले रेकर्ड ब्रेक गर्न बाँकी रहेकोले आउने दिनमा कारोबार रकम थप बढ्ने छ।
किनकि अहिले बैंकहरु अझै पनि पुरानो ऋण उठाउनेमा नै लागेका छन्। असारको उठ्ति समेत गणना गर्ने मिल्ने सुबिधा केन्द्रीय बैंकले दिएको कारण उनीहरू साउन महिनामा उठाउनमै लागेका छन्। तर भदौ लागेपछि भने बैंकले एग्रेसिभ ऋण बिस्तार गर्ने छन्। किनकि फेस्टिभ सिजन सुरु हुँदै गर्दा ऋणको माग बढ्छ। त्यो रकम समेत शेयर बजारमा आउने छ। जसले शेयर बजारको कारोबार रकम थप बढाउन सहयोग गर्ने अनुमान गर्न सकिन्छ।
(माछापुच्छ्रे बैंकका सिइओ काेइरालासँगकाे अन्तरवार्ता आज ३ बजे मेराेलगानी डटकमकाे युट्युव च्यानलमा प्रशारण हुने छ )