पुराना संस्थागत लगानीकर्ता तआएकै छन्, नयाँ संस्थागत लगानीकर्ता र इन्भेष्टरहरुले पनि ऋण माग गरिरहेका छनः माछापुछ्रे बैंकका सिइओ काेइरालासँगकाे अन्तरवार्ता

Aug 16, 2024 06:17 PM merolagani



लामाे  समयदेखि शिथिल रहेकाे अर्थतन्त्र गतिशील बन्न थालेकाे संकेत मिलेकाे छ । केन्द्रीय बैंकले माैद्रिक नीतिमा लचकता अपनाएपछि अर्थतन्त्र चलायमान हुन थालेकाे हाे ।

 

माैद्रिक नीतिकाे सबैभन्दा छिटाे प्रभाव शेयर बजारमा परेकाे छ । बिस्तारै अन्य क्षेत्रमा पनि सुधार हुँदै जाने देखिन्छ । माैद्रिक नीतिकाे लचकताले बैंकहरूकाे प्राेफिटाबिलिटीमा पनि सुधार हुने देखिएकाे छ ।

केन्द्रीय बैंकले लिएकाे लचकताले देखिएका सुधारहरू के कस्ता छन् र कतिकाे दिगाे हुन्छन् भन्ने बिषयमा मेराे लगानीका उप सम्पादक सुवास निराैलले माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्ताेष काेइरालासँग कुराकानी गरेका छन् ।

 

अहिले शेयर बजारमा हरेक दिन जसो नयाँ रेकर्डहरू बनिराखेका छन्। कहिले कारोबार कित्ता त कहिले कारोबार रकम अनि कहिले बजार पूँजीकरण रेकर्ड बनिरहेको छ। आउने दिनमा सूचकले पनि रेकर्ड ब्रेक गर्छ भनिँदै छ। के यो पछिल्लो मौद्रिक नीतिकै कमाल हो। तपाईले यसलाई कसरी हेरिरहनु भएको छ ?

पछिल्लो समय परिवर्तन भएको सत्ता समीकरण र मौद्रिक नीतिको लचकताले गर्दा शेयर बजारले कोल्टो फेरेको जस्तो देखिन्छ। मौद्रिक नीति अघिको अवस्था र अहिलेको अवस्थामा फरक देखिएको छ। राष्ट्र बैंकले शेयर बजारमा लिएको नीतिमा गरेको परिवर्तन पछि शेयर बजारलाई पहिले कै दृष्टिकोणबाट हेर्नु हुँदैन। आउने दिनमा बजार बढ्छ भन्ने अपेक्षा बढेकै कारण अहिले शेयर बजार बढिरहेको जस्तो लाग्छ।

यो वृद्धि दिगो हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

शेयर बजारको विषयमा ठ्याक्कै यही नै हुन्छ भनेर भनिहाल्न गाह्रै हुन्छ।  तर पनि के लाग्छ भने अहिलेको परिस्थिति हेर्दा र जुन मौद्रिक नीतिले संस्थागत रुपमा आउने लगानीकर्तालाई जुन लिमिट तोकेको थियो। त्यसलाई खुल्ला गरिदिएको अवस्थामा आउने दिनमा यसको राम्रै प्रभाव पर्ने अनुमान गर्न सकिन्छ। फेरि बैंकहरुमा लगानी गर्ने प्रशस्त रकम भएकोले मलाई लाग्छ अझै केही समय यसको गति पोजेटिभ नै हुन्छ होला।

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताको ऋण सीमा खारेज गरिदिएपछि व्यक्तिगत र संस्थागत लगानीकर्ताहरू ऋण माग्न आउने क्रम बढेको छ कि छैन ?

निश्चय पनि बढेको छ। संस्थागत लगानीकर्ताहरू धेरै नै सोधपुछ गर्न आइरहनु भएको छ। यता संस्थागत लगानीकर्तालाई हामीले लगानी गर्न सुरु पनि गरिसकेको अवस्था छ। जो हिजोको दिनमा लगानी गर्नुहुन्थ्यो उहाँहरु आउनु त स्वाभाविक नै भइ गयो। त्यो बाहेक नयाँ कम्पनी रजिस्ट्रेसन गरेर शेयरमा लगानी गर्ने भन्ने हिसाबले हामीले नै चिनेका हाम्रै कष्टमरहरु लागि राख्नु भएको छ भन्ने हाम्रो बुझाइ छ। आम लगानीकर्तामा पनि अब यो बुलिस तिरै जान्छ भन्ने भएपछि निश्चय पनि नयाँ नयाँ इन्भेष्टरहरु आउनु स्वाभाविक  भई गयो। अहिले शेयर बजार बुलिस तर्फ जान्छ भन्ने आँकलन आएको हुनाले शेयर बजार बढिरहेको देख्न सकिन्छ। बैंकसँग पनि लगानीयोग्य तरलता प्रशस्त भएको कारणले पनि शेयर बजार चलायमान हुँदै गएको जस्तो देखिन्छ। मलाई के लाग्छ भने यो ट्रेन्ड भविष्यमा पनि केही समय कायमै रहन्छ।

पछिल्लो समय जुन मौद्रिक नीति आयो त्यसले समग्र आर्थिक र बैंकिङ क्षेत्रलाई चलायमान गराउन सहयोग गर्छ कि गर्दैन।

निश्चय नै सहयोग गर्छ। किनभने हाम्रो बैंकिङ सेक्टरलाई हेर्दा प्राथमिक पूँजीमा परेको स्ट्रेसको कारण ५० प्रतिशत वाणिज्य बैंकहरुलाई थप लगानी बढाउन अप्ठ्यारो परिरहेको अवस्था थियो। त्यस कारण लोन दिने कुरामा अलिकति हेजिटेड गर्नु परिरहेको थियो। त्यो कुरालाई मौद्रिक नीतिले केही हदसम्म सम्बोधन गरिदिएको छ। नीतिमा एक दुई कुराहरू छन्। जस्तै अहिले जुन प्रोभिजनिङका कुराहरू छ त्यसमा अलिकति रिल्याक्ससेसन आएको छ। १.२ बाट १.१ बनाइ दिनु भएको छ। त्यसै गरी ६ महिनाको व्याक गर्न पाउने व्यवस्था भएको छ। १.२ बाट १.१ मा आउँदा नै बैंकहरुको झण्डै चार अर्ब रुपैयाँ व्याक हुन्छ। त्यसले स्वभाविक रूपमा प्रोफिटलाई बढाउँछ। जुन ६ महिनाको प्रोभिजनिङ छ त्यो व्याक हुँदा पनि ठूलो मात्रामा लगानी योग्यमा परिणत हुन्छ। अझै त्यसले प्रोफिटमै पोजेटिभ हिट गर्छ। पूँजीमा हिट गर्ने बित्तिकै बैंकहरुको लोन दिन सक्ने अवस्था बढ्छ। डिपोजिटको कारणले कुनै पनि समस्या छैन। आठ/साढेआठ खर्बको तरलता अहिले पनि छ। अर्कोचाहिँ दुई करोडको होम लोनलाई अढाई करोड बनाइदिनु भएको छ। रेगुलेटरि पोर्टफोलियो भित्र पर्छ। त्यसले ७५ प्रतिशतको मात्रै रिस्क वेट हुने भएकोले त्यसले पनि अल्टिमेट्ली क्यापिटललाई नै सपोर्ट गर्छ। प्रिफ्रेन्स शेयरको इन्टुमेन्ट राष्ट्र बैंकले दिएको छ। भर्खरै हामीले सुनेका छौ कि नबिल बैंकले त एक किसिमको सम्झौता नै गरिसक्यो रे। अहिले राष्ट्र बैंक के कुरामा क्लियर देखिन्छ भने सधैभरि प्रशाेचन गरेर मात्रै हुँदैन। अब बैंकहरुलाई लगानी गर्न सहज गरिदिनु पर्छ भन्ने कुरामा राष्ट्र बैंक क्लियर छ। त्यही अनुरूप नै मौद्रिक नीतिको दिशा पनि देखिन्छ। सोही कारण राष्ट्र बैकले चालु आर्थिक वर्षको लागि १२ प्रतिशतको ऋण बिस्तारको लक्ष्य लिएको छ। अहिले मौद्रिक नीति बजार चलायमान हुने हिसाबले आएको छ। 

अहिले पनि राष्ट्र बैंकले बजारबाट पैसा खिचिरहेको अवस्था छ। अहिले पनि ऋण बिस्तारमा खासै प्रगति  देखिएको छैन। के कारणले हो ?

साउनको २१ गते आएर बल्ल गत आर्थिक वर्षको वासलात सार्वजनिक गर्‍यौ। त्यो बेलासम्म त हामी सबै रिकभरिमै लगिरहेका थियौ। फेरि मौद्रिक नीति आउँदै गर्दा राष्ट्र बैंकले के भन्यो भने साउन ३२ गतेसम्म यदि असारसम्म पाकेको व्याजचाहिँ उठाउनुहुन्छ भने असार कै व्यालेन्ससिटमा एडजस्ट गर्न दिन्छौ भनेपछि बैंकहरु गत आर्थिक वर्षकै  व्यालेन्ससिट  क्लोज गर्न तल्लीन रहेको र त्यसमा नै बढी समय दिएको कारणले यस्तो भएको होला। अबचाहिँ मलाई के लाग्छ भने बैंकहरु डिपोजिट लिएर लोन दिने संस्था भएकोले गत आर्थिक वर्षको  व्यालेन्ससिट क्लोज गरिसकेपछि क्रेडिट ग्रोथ तर्फ लाग्छन्। त्यसमा दुई पक्ष छन्।  एउटाचाहिँ बेस रेट धेरै कममा आइसकेको अवस्था छ। अर्को तर्फ सिङ्गल डिजिटमा सबै बैंकको रेट आइसकेको छ। त्यस कारण लोनप्रति आकर्षण पनि बढ्छ। त्यसको असर शेयर बजारमा पनि आउँछ। किनभने शेयरमा पनि बैंकहरुले लोन दिन्छन्। इन्डष्ट्रीहरु पनि लोनको रेट हाइ भएको कारणले चुप लागेर बस्नु पर्ने अवस्था थियो। त्यो अवस्था भन्दा अहिले धेरै सुधार भइसकेको छ। तर ऋण प्रोसेस आज सुरु भएर भोलि नै दिने भन्ने हुँदैन। त्यसलाई केही समय लाग्ने भएको हुनाले तत्कालै  त्यसको असर नदेखिए पनि पहिलो त्रैमासमा केही न केही पोजेटिभ इफेक्ट भने देखिन्छ।

भनेपछि बैंकहरुको पहिलो त्रैमासको रिपोर्ट सोचेभन्दा निक्कै राम्रो आउँछ भन्ने अपेक्षा अहिले नै गर्न सकिन्छ ?

मेरो अपेक्षा पनि त्यही हो।   

जस्तो मौद्रिक समीक्षाले बैंकहरुलाई पनि शेयर बजारमा काम गर्न केही सहज गरिदिएको थियो। त्यसले केही फरक पारेको छ ?

फरक पारेको छ। अझै पहिले पहिले त बैंकहरुले पनि शेयरमा लगानी गरेर राम्रै इनकम गरेकै हुन्। बीचमा त्यसै अनुसारको टाइट सर्कुलर आयो। जसले बैंकहरुको लगानी खुम्चिएकै हो। पहिले जसरी गर्ने गरिएको थियो त्यस अनुसार त भएको छैन। नहोला पनि। बैंकहरुले पनि आफ्नो हिसाबले हेरिरहेका छन्। हिजोको समय जस्तो रियल स्टेट र शेयरमा बैंकको लगानी जाला भन्ने त मलाई लाग्दैन। जे भए पनि रियल स्टेटमा बढी लगानी भएको कारण यस्तो अवस्था आएको भन्नेमा बैंकहरु सजग छन्। हामीले वर्किङ क्यापिटलको लागि दिएको पैसा नै शेयर बजार र रियल स्टेटमा गएको कारणले यस्तो अवस्था आएको भन्ने हेक्का रहेकै कारण सबै बैंकरहरु सजग नै छौ। तर यति भन्दा भन्दै पनि रिल्याक्सेसनका कारण बैंकहरुको लगानी पनि थोरै त बढेको नै छ। त्यो स्वाभाविक पनि हो।

तर पछिल्ला वर्षहरूमा बैंकहरुको आरओइ घट्दै गएको देखिन्छ। आउने दिनमा यसमा सुधार हुने सम्भावना छ ?

इकोनमी डाउन ट्रेन्डमा जाँदा लोनको प्रिन्सिपल तिर्ने कुरामा नै समस्या आयो। त्यस कारणले  प्रोभिजनिङ बढ्यो। कति बैंकहरुको त एनपिए लेभल नै पाँच प्रतिशत भन्दा माथि  गयो। हाम्रै बैंकको हेर्ने हो भने  ३.६ सम्म पुग्यो। प्रफिटमा जानु पर्ने पैसा प्रोभिजनिङमा गयो। जसले ऋण तिर्न सकेनन् उनीहरूको धितो सकार्नु पर्ने अवस्था आयो। त्यसलाई बिक्री गर्न सकिएन। जसलाई नन् बैकिङ एसेटको रुपमा राख्नु पर्‍यो। त्यसले गर्दा पनि आरओइमा घट्दै गयो। अहिले म यो आर्थिक वर्षको सुरुकै दिनमा कुरा गर्दै छु। आउने दिनमा नन् बैंकिङ एसेट पनि सेल आउट गर्न सक्ने,अर्कोतर्फ हिजोको दिनमा प्रोभिजनिङ गरेकाहरूलाई पनि व्याक गर्न सक्ने अवस्था रहेकोले आउने दिनमा पक्कै सुधार हुन्छ। अर्को तर्फ केन्द्रीय बैंकले प्रोभिजनिङमा दिएको लचकताले पनि नाफा बढाउन धेरै सहयोग गर्छ।

अहिले व्यवसाय बिस्तार गरेर नाफा बिस्तार गर्ने हो कि प्रोभिजनिङ व्याक भएर वा नन् बैंकिङ एसेटहरु बिक्रीले नाफा बढाउने हो ?

यसमा दुईवटै कुराले नाफा बढाउने हो।  व्यवसाय विस्तार गर्ने कुरामा पनि लोनको डिमाण्ड आउने बित्तिकै व्यवसाय बिस्तार हुने नै भयो। यस अघि हामीले व्यवसाय विस्तार गर्न नसक्नुको खास कारण प्राथमिक पूँजी टाइट भएर थियो। प्राइमरी क्यापिटल टायर वान  पहिले ८.५ प्रतिशत भनिएको थियो। बिचमा आएर केन्द्रीय बैंकले काउन्टर साइकल बफर भनेर ९ लगाइदियो। त्यसले भएको क्षमतामा पनि ह्रास आयो। अहिले आएर हामीले हेर्दा सबै बैंकको ९ भन्दा माथि छ। आउने आर्थिक वर्षमा भने टायर वान क्यापिटल रेसियो ८.५ नै हुन्छ भन्ने हाम्रो अनुमान छ। यो चाहिँ क्रेडिट टु जिडिपी ग्रोथसँग रिलेटेड छ। क्रेडिट ग्रोथ नै नभएपछि काउन्टर साइकल लाउनु पर्ने अवस्था छैन। त्यसले गर्दा साढे आठ प्रतिशतमा नै आउँछ भन्ने हाम्रो अनुमान हो। त्यतिमा आयो भने सबै बैंक ऋण दिन सक्ने अवस्थामा हुन्छन्। इन्ट्रेस्ट रेट पनि डाउन भयो। बेस रेट पनि डाउन भयो। बैंकहरुको ऋण दिने क्षमता पनि वृद्धि भयो। अर्कोतिर मनोबल पनि वृद्धि भएर गएको अवस्था छ। शेयर मार्केटले पनि सुधारको बाटो समात्यो। आउने दिनमा आशा गरौँ रियल स्टेटले पनि सुधारको बाटो समात्छ। अनि प्रोभिजनिङ पनि व्याक गर्ने सुविधा पाइएको छ भने अर्को तर्फ बैंकहरुसित तरलता पनि प्रशस्त छ। त्यसकारण यी सबै मेजरहरू हेर्दा अब आउने दिनमा बैंकिङ क्षेत्रको नाफा पनि बढ्छ। भविष्य पनि राम्रो छ।

तपाईले जसरी भदौदेखि क्रेडिट ग्रोथ अत्यधिक बढ्छ भन्दै हुनुहुन्छ। यसअघि २७/२८ प्रतिशत क्रेडिट ग्रोथ हुँदा पनि त्यसले अर्थतन्त्रमा खासै ठूलो भूमिका खेलेन। भूमिका नखेल्नुको कारण भनेको सस्तो पैसा शेयर बजार र रियल स्टेटमा गएको कारण थियाे भनिन्छ। यस पटक पनि बैंकहरुको धेरै जसो ऋणको पैसा शेयर बजार र रियल स्टेटमा जाने सम्भावना छ कि छैन ?

उत्पादनमूलक क्षेत्रको लगानीको विषय बहसकै विषय हो। रियल स्टेट र शेयरमा लगानी गर्ने साथीहरूले यो क्षेत्रलाई कसरी अनुत्पादक भन्न मिल्छ ? यो पनि उत्पादनमूलक क्षेत्र नै हो भन्नु हुन्छ। तर नियामक भने उत्पादनमूलक क्षेत्र भनेको कृषि, हाइड्रो, उद्योग हुन् भन्छ। त्यसमा ऋण प्रवाह गर्दा त्यसले जिडिपीमा पनि योगदान पुर्याउछ। रोजगारी पनि सिर्जना गर्छ भन्छन्। त्यसले गर्दा यो विषय बहसको विषय छ। त्यस कारणले यसमा मैले टिप्पणी गर्न चाहिन। तर बैंकहरुले ग्रोथ गर्दा अन्धा धुन्ध सबै पैसा एउटै सेक्टरमा जाने अथवा एकैतिर कन्सनट्रेड हुने हुँदैन। किनभने बिचमा वर्किङ क्यापिटल गाइडलाइन ल्याइएको छ। वर्किङ क्यापिटल गाइडलाइनको हुबहु पालना गर्ने बित्तिकै पहिले जस्तो गरी ऋण जाने सम्भावना हुँदैन। फेरि अर्को तर्फ राष्ट्र बैंकको सिलिङ पनि छ। यति प्रतिशत मात्रै यो सेक्टरमा दिन पाउने भन्ने। जसले गर्दा पनि यसपटक पहिले जस्तो गरी ऋणको अपचलन हुने सम्भावना निक्कै कम छ। यसले के देखाउँछ भने नियामक हिजोको दिन भन्दा निकै कडा देखिएको छ।

तर डिमाण्डको कुरा गर्दा सबै सेक्टरको लोनको डिमाण्ड बराबरी जस्तै नै छ। अलि धेरै भनेको शेयरमा छ। त्यसमा पनि बैंकले आफ्नो प्राथमिक पूँजीको निश्चित प्रतिशत ऋण मात्रै शेयरमा दिन पाउँछन्। त्यो भन्दा बढी जाँदैन भन्नेमा ढुक्क हुन सकिन्छ।

अहिलेको संसदीय व्यवस्थामा बलियो सरकार बनेकोले गर्दा लगानीकर्ताहरूमा अलि बढी नै कन्फिडेन्स बढेको छ। त्यसको सङ्केत शेयर बजारले गरिरहेको छ। त्यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन।

यस भन्दा अघि अर्थतन्त्र चलायमान भएन भनेको बढी सुन्ने गरिन्थ्यो। अहिले आएको मौद्रिक नीतिले समग्र अर्थतन्त्र चलायमान गराउँछ भन्नेमा हामी ढुक्क हुन सक्छौ ?

म चाहिँ ढुक्क र विश्वस्त छु। मैले माथि नै धेरै प्यारामिटरहरुको बारेमा पनि भनिसकेँ। फेरि राष्ट्र बैंकले पनि बैंक र कस्टमर दुबैलाई रिल्याक्सेसन दिएको अवस्था छ। जुन क्षेत्र सबैभन्दा बढी मर्कामा थियो त्यो भनेको निर्माण क्षेत्र थियाे। उसलाई अझै बढी फोकस केन्द्रीय बैंकले गरेको छ। निर्माण व्यवसायीले काम गरेपछि  सिमेन्ट डन्डी बढी खपत हुने हो। हुन त सरकारले उनीहरूलाई दिने भुक्तानीलाई केन्द्रीय बैंकले समन्वयकारी भूमिका निर्वाह गरिदिएको जस्तो लाग्छ। तथापि सबै क्षेत्रलाई मौद्रिक नीतिले पोजेटिभ रेसपोन्स गरिदिएको हुनाले अबचाहिँ इकोनमि चलायमान हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ।

भनिन्छ भविष्यको प्रेडिक्सन स्टक मार्केटले पहिले नै गर्छ। जसरी अहिले शेयर बजार बढिरहेको छ। त्यसले भविष्य राम्रै छ  भन्ने अनुमान गर्न सकिन्छ ?

हाम्रो देशको लगानीकर्ताकाे ज्ञान कुन हिसाबको छ र उनीहरूले कसरी इन्भेस्टमेन्ट गर्छन् भनेर मैले ठ्याक्कै भन्न त सक्दिन।  तर एउटा अनुमान के गर्न सकिन्छ भने मौद्रिक नीतिले दिएको लचकता र बैंकहरुसित भएको तरलताका कारणले नै शेयर बजारमा सुधार आएको हो भन्न सकिन्छ। मेरो अनुमानमा केही समयसम्म शेयर बजार सुधारोन्मुख नै हुन्छ होला भन्ने अनुमान भने  गर्न सकिन्छ।  




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।