बैंकहरुको कर्जाको औसत ब्याजदर नै एकल अंकमा झर्यो, अझै सस्तिँदै कर्जा

Aug 20, 2024 11:28 AM Merolagani



बैंकहरुको कर्जाका ब्याजदर  एकल अंकमा झरेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरण अनुसार असार महिनामा बैंकहरुको कर्जाको औसत ब्याजदर एकल अंकलमा झरेको हो।

केन्द्रिय बैंकका अनुसार असारसम्ममा वाणिज्य बैंकहरुको कर्जाको औसत ९.९३ प्रतिशतमा झरेको हो। यो कोभिड पछिको सबैभन्दा सस्तो ब्याजदर हो।

अहिले बैंकहरुको औसत आधा दर ८ प्रतिशतमा झरेको छ। बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन्। तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरु अहिले एक डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन्। यसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो।

अहिले अधिकाँश बैंकको आधार दर ८ प्रतिशतकै हाराहारी छ। बैंकहरुले २ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिँदा पनि एकल अंकको ब्याजदरमा नै कर्जा दिन सक्छन्। नयाँ मात्र होइन अहिले पुराना कर्जाको ब्याजदर पनि ११ प्रतिशतकै हाराहारीमा झरिसकेको छ।

 

डेढ वर्षअघि औसत ब्याजदर १२ प्रतिशत माथि पुगेको थियो तर अहिले बैंकहरुमा अधिक तरलताको कारण निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जाको ब्याजदर पनि घट्दै गएको हो। ब्याजदर घट्दा त्यसले उद्योगी व्यवसायी र शेयर बजारका लगानीकर्तामा समेत कर्जा लिने कन्फिडेन्स बढ्दै गएको छ। यसै कारण पछिल्लो समय बैंकमा कर्जाको माग समेत बढेन थालेको बैंकरहरु बताउँछन्।

  • कर्जाको ब्याजदर अझै घट्ने

बैंकहरुको कर्जाको ब्याजदर अझै घट्ने देखिएको छ। किनभने गत साउनमा पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका थिए भने भदैामा पनि निक्षेपमा थप ब्याजदर घटाएका छन्। बैंकहरुले भदौको लागि प्रकाशित गरेको ब्याजदरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६ प्रतिशतको हाराहारी झरेको छ।

निक्षेपको ब्याजदर घटाउँदा बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज खर्च घट्छ। जसले बैंकहरुको लागत घटाउँछ। बैंकहरुको निक्षेपको लागत घटाउँदा त्यसले आधार दर थप घटाउने छ।

बैंकहरुले आधार दरमा  प्रिमियम थप गरी कर्जा लगानी गर्ने भएकोले आधार दर घट्दा आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तो हुने देखिएको हो।

 




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।