गएको एक वर्षमा मार्जिन प्रकृतिको कर्जा १८% ले बढ्यो, फेरि बैंकको पैसा शेयर बजारमा ओइरिन थाल्यो

Aug 20, 2024 05:50 PM merolagani



नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको विवरण अनुसार मार्जिन प्रकृतिको कर्जा १८.१ प्रतिशतले बढेको छ। गत असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको असार मसान्तसम्ममा उक्त प्रतिशतले कर्जा बढेको हो।

नेपाल राष्ट्र बैंकले ४/१२ को नीति अघि सारे यता शेयर बजारमा जाने पैसा घट्दै आइरहेको थियो।  लगानी अभावको कारण सूचक पनि दबाबमा रहँदै आएको थियो। तर बिस्तारै बैंकको पैसा शेयर बजारमा भित्रिने क्रम बढ्न थालेको छ। जसको सकारात्मक प्रभाव शेयर सूचकमा समेत देखिन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गएको एक वर्षमा बैंकबाट १३ अर्ब ७८ करोड रुपैयाँ थप पैसा शेयर बजारमा भित्रिएको छ। गत आर्थिक वर्षको असारसम्म कुल ७६ अर्ब ३० करोड रुपैयाँ शेयर बजारमा आएकोमा उक्त रकम चालु वर्षको असार मसान्तसम्म आइपुग्दा ९० अर्ब ९ करोड रुपैयाँ पुगेको छ। जुन १८.१ प्रतिशतको बृद्धि हो। अघिल्लो वर्षको तुलनामा भने गत वर्ष उक्त ऋण घटेको थियो। अघिल्लो वर्ष ८० अर्ब रहेको कुल ऋण गत वर्ष ७६ अर्बमा खुम्चिएको थियो।

मार्जिन प्रकृतिको कर्जामा ठुलो ऋण लिने सबैभन्दा बढी बढेका छन्। केन्द्रीय बैंकको विवरण अनुसार एक करोड भन्दा बढी ऋण लिने २५ प्रतिशतले बढेका छन्। त्यसपछि सबैभन्दा बढी ऋण लिनेमा २५ देखि ५० लाखसम्मका ऋणी छन्। उनीहरूले १२.८ प्रतिशत ऋण बढाएका छन्। ५० लाख भन्दा बढी लिने ऋणी तेस्रोमा छन्। उनीहरूको ऋण ५.५ प्रतिशतले बढेको छ। अर्कोतर्फ सबैभन्दा पुछारमा २५ लाख भन्दा कम ऋण लिने छन्। उनीहरूको बृद्धि ३.९ प्रतिशत मात्रै देखिएको छ।

पछिल्लो समय प्रकाशित विवरण असारको हो। मौद्रिक नीति पछि के कति ऋण लिए भन्ने यकिन तथ्याङ्क अझै आइसकेको छैन। तर असारमा भन्दा पनि बढी बैंकको पैसा साउनमा आएको अनुमान बैंकरहरुको छ। किनकि केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत शेयर बजारमा संस्थागत लगानीकर्तालाई तोकिएको २० करोडको सीमा खारेज गरेको छ। साउन लागे यता दोस्रो बजारमा कारोबार रकम बढ्दै आएको छ। जसका कारण मौद्रिक नीति पछि अझै धेरै बैंकको पैसा शेयर बजारमा आएको अनुमान गरिएको हो। जुन आउने महिना राष्ट्र बैंकले प्रकाशित गर्ने विवरणले के कति बढ्यो भन्ने बोल्ने छ।

अझै साउनमा भन्दा पनि बढी ऋण भदौमा आउने अनुमान बैंकरहरुको छ। धेरै नयाँ लगानीकर्ताहरू नयाँ कम्पनी खोलेर शेयर बजार भित्रिने तयारी गरिरहेका छन्। यसैगरी बैंकहरुले भदौमा ऋण बिस्तारमा अलि बढी केन्द्रित हुने भएकोले भदौमा अझै बढी ऋण शेयर बजारमा आउने अनुमान गरिएको हो।

जति धेरै बैंकको पैसा शेयर बजारमा आउने क्रम बढ्छ। त्यति नै धेरै शेयर बजारले बढ्दो लय समाउने गर्छ। बैंकको पैसा आउन कम भएसँगै शेयर बजार समेत घट्दो क्रममा जाने गरेको देखिन्छ। जस कारणले अहिले बैंकको ठूलो रकम शेयर बजार आउने क्रम जारी रहेकोले शेयर बजार अझै केही समय बढ्ने अनुमान दोस्रो बजारमा भइरहेको छ। फेरि बैंकसँग प्रशस्त लगानी योग्य रकम हुनु र अर्को तर्फ बैंकको ब्याजदर समेत निरन्तर घट्दै जानुले लगानीकर्तालाई शेयर बजार पस्न थप उत्साहित गरिरहेको छ।  




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।