केपी ओलीलाई पूर्वअर्थमन्त्री वर्षमानको चेतावनी-'सहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्'

Aug 20, 2024 11:47 AM Merolagani



नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरुलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिंडेको टिप्पणी गरेका छन् । 

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरु हाँस्ने गरेकाे बताए ।

‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई राखेर यसो भनेको सुन्दा मानिसहरु हाँस्ने गर्छन् । मान्छेहरु भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’

आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात काँग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए । उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा काँग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे ।

माओवादी सशस्त्र जनयुद्ध, ०६२-०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा काँग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरुको अनुमान पछिल्ला घटनाक्रमहरुले गलत साबित भएको पुनले बताए । ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौं । हामीलाई लागेको थियो उनीहरु यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरु भ्रष्टचार, बेथिती र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरुलाई पुरानै ठाउँमा फर्कन दिँदैनौं । खबरदारी गर्छौं’, पुनले भने । पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरुले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए ।

फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरु सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताए । तर, काँग्रेसकै वरिष्ठ नेताहरु सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरे । ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भने, ‘काँग्रेसकै वरिष्ठ नेताहरु सरकार सय दिन जाला भन्न थाल्नुभएको छ ।’

सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरुको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनको थियो । पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गरे ।

फरक प्रसंगमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए । जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौं आधुनिक विद्यालय भवनहरु निर्माण भएको तथा सिंचाई र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गरे । उनले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सृजना गर्ने योजनासहित आफूहरुले काम गरिरहेको चर्चा गरे ।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।