राष्ट्र बैंकले एक खर्ब तान्न खोज्दा बैंकहरुले दिए २ खर्ब राख्न आवेदन, ब्याजदर पनि घट्यो

Aug 20, 2024 03:24 PM Merolagani



बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ खिच्न खोज्दा बैंकहरुले त्यसको दोब्बर पैसा राष्ट्र बैंकमा राख्न आवेदन दिएका छन्।

केन्द्रीय बैंकले गत आइतबार बैंकिङ्ग प्रणालीबाट तरलता खिच्नका लागि १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको थियो। केन्द्रीय बैंकले २१ दिन अवधिको लागि उक्त निक्षेप संकलन उपकरण जारी गरेको हो।

बैंकहरुले भने १ खर्ब ९६ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राख्नको लागि आवेदन दिएका छन्। त्यसमा बैंकहरुले ब्याजदर समेत घटाएका छन्।

यसअघि ३ प्रतिशत ब्याजदरमा पैसा राख्दै आएका बैंकहरुले यसपटक ३ प्रतिशतभन्दा कम ब्याजदरमा नै पैसा राख्नको लागि आवेदन दिएका छन्। बैंकहरुले २.८० प्रतिशतदेखि २.९७ प्रतिशतसम्म ब्याजदर तोकेर आवेदन पेश गरेका हुन्। उक्त निक्षेप संकलन उपकरणको भारीत औसत ब्याजदर २.८८ प्रतिशत कायम भएको छ।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ। बैंकहरुसँग ७ खर्ब बढीको लगानीयोग्य रकम थुप्रिएको छ। यसले गर्दा कोषको लागत घटाउन पनि बैंकहरुले धेरै पैसा राष्ट्र बैंकमा राख्न खोजिरहेका छन्।

अहिले बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशतभन्दा धेरै ब्याज तिरेर निक्षेप लिइरहेका छन्। तर त्यो पैसा कर्जाको रुपमा लगानी हुन सकेको छैन। बैंकमा थुप्रिएको पैसा कर्जाको रुपमा लगानी गर्न नसक्दा बैंकहरुले थुप्रिएको पैसालाई कम ब्याजदरमा नै भए पनि राष्ट्र बैंकमा राख्न खोजिरहेका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा समेत उपलब्ध गराएको छ। बैंकहरुले एक साताको लागि ३ प्रतिशत ब्याजदरमा बढी भएको लगानीयोग्य रकम राष्ट्र बैंकमा राख्न सक्छन्। तर राष्ट्र बैंकले ३ साताको लागि निक्षेप राखिदिने भएपछि बैंक तथा वित्तीय संस्थाको आवेदनको ओइरो लागेको हो।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।