भोजपुरकी पाण्डेलाई वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको उनको अपार्टमेन्टको कोठाभित्रै पसेर हत्याराले गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी सन् २०२१ मा एफ वान भिसामा अन्तरराष्ट्रिय विद्यार्थीका रुपमा अमेरिका आएकी थिइन् । सन् २०२२ जनवरीयता मुनाले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेण्टमा काम गरेकी थिइन् । त्यहाँ उनले करिब एक वर्ष काम गरेकी थिइन् । अहिले भने उनी एक फाेन स्टाेरमा कार्यरत थिइन् ।
प्रहरीका अनुसार मुनाकाे अपार्टमेन्टमा पुरूषले प्रयोग गर्ने फिटनेसका सामाग्रीहरू फेला परेकाे छ ।यसका आधारमा मुनासँगै कोही पुरुष पनि उक्त काेठामा बस्ने प्रहरीले अनुमान गरेकाे छ । उनी अमेरिकी युवकसँग प्रेम सम्बन्धमा रहेकाे खुलेकाे छ । यससँगै, मुनाको अपार्टमेण्टमा सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू पनि प्रहरीले लगेकाे छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638604657641401880.png)
सोमवार बेलुकी (अमेरिकी समय अनुसार) कोठाभित्र शव भएको भन्दै अज्ञात नम्वरबाट अपार्टमेण्टमा फोन गरिएकाे थियाे। जसपश्चात, अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। मुनालाई तीनवटा गोली हानिएको थियो। उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने प्रहरीकाे अनुमान रहेकाे छ। उनकाे ओछ्यानमा देखिएको रगतको टाटाले यस्तेा देखाएकाे हाे ।
मुनाकी आमा अनिता अधिकारी छाेरीकाे हत्याकाे खबर पाएयता विक्षिप्त छिन् । उनले सामाजिक संजालमा देखिएकाे भिडियाेमा उनी भावविह्वल अवस्थामा छाेरीकाे हत्यारा पत्ता लगाउन अनुनयविनय गरिरहेकी देखिन्छिन् । मुनाका बुवा अवकाश प्राप्त सिपाही रहेकाे अनिताले बताएकी छिन्। बुवासँगकाे सम्बन्ध विच्छेदपछि उनी काँडाघारीमा एक्लै भाडा लिएर बस्दै आइरहेकी छिन् । यसअघि, श्रीमानसँग उनी थानकाेटकाे घरमा बस्ने गर्थिन् । तर सम्बन्ध बिग्रेपछि भने उनीहरूले घर बिक्री गरेका थिए । मुना कक्षा पाँचसम्म काठमाडौंमा पढेकी थिइन् तर मुनाले आमा अनितासँग आमा र बुवाकाे झगडाकाबीच आफू पढ्न नसक्ने बताएपछि अनिताले पछि मुनालाई पढ्नका लागि माइत लगिन् । मुना कक्षा १२ सम्म इटहरीमै पढेकी थिइन्।
![](https://images.merolagani.com/Uploads/Repository/638604660505050342.png)
फोटो स्टुडियोबाटकाे कमाइले गरेर अनिताले आफ्नाे र छाेरीकाे जिविकाेपार्जन गरिरहेकी थिइन् । प्लस टु सकिएपछि भने मुना पढ्नका लागि अमेरिका जान चाहिन् । छाेरीकाे चाहना अनुरूप तीन वर्षअघि उनले ऋण गरेर नै पढ्नका लागि अमेरिका पठाइन्।
अमेरिकामा नर्सिङ पढिरहेकी मुनाले अगस्टमा पढाइ सकिसकेकी थिइन्। अब एक वर्ष मात्रै पढाइ बाँकी रहेकाे उनले आमा अनितालाई हाैसला दिन्थिन्। सामाजिक संजालमा देखिएकाे भिडियाेमा अनिता रूँदै भन्छिन्, ‘अब त हाम्रो सुखको दिन आउँछ मम्मी । एक वर्ष मात्रै पढाइ बाँकी छ । तपाईं नआत्तिनु भनेर मलाई भरोसा दिन्थी ।' तर अचानक अनिता र मुनाकाे त्याे सपना र आशा तुहियाे । "मेराे संसार नै त्यहिँ एउटा छाेरी त हाे, त्यहिँ भनेर बाँचेकी थिएँ । नभउ उहिले मर्थे कि के हुन्थयाे, थाहा छैन," उनी रूँदै छटपटाउँछिन् ।
यससँगै करिब एक वर्षअघि, आमा अनितासँग उनले एक अमेरिकी प्रेमी रहेकाे पनि खुलाएकी थिइन् । ती अमेरिकी नागरिकले विवाह गर्ने प्रस्ताव गरेकाे पनि अनितासँग बताएकी थिइन् । यद्धपी आमा अनिताले छाेरीलाई समय लिन र हतारमा निर्णय गर्न सुझाव दिएकी थिइन् । साे समयमा प्रेमी र आफ्नाे तस्बिरहरू पनि अनितालाई पठाउने गरेकी थिइन् । तर केहि महिनाअघि, उनले ती प्रेमी व्यवहारिक र सिरियस नभएकाे भन्दै आफ्नाे सम्बन्ध अघि बढ्न नसक्ने आमासँग भनिन् । अनिताले पनि राम्राेसँग नबुझी मन नमिले सम्बन्ध अगाडि नबढाउन सल्लाह दिएकी थिइन् । तर फेरि एक वा दुइ महिना अघि, पुनः साेहि व्यक्तिसँग सम्बन्धमा रहेकाे अनिताले साथीहरूमार्फत खबर पाएकी थिइन् ।
अमेरिका गएर पढ्नुका साथै श्रम गरिरहेकी मुनाकाे आमासँग फाेन तथा भिडियाे कलमार्फत कुराकानी भइरहन्थ्याे । तर उनीहरूबीच शुक्रबार यता कुरा भएकाे थिएन । यद्धपी अनिताले छाेरी काम तथा पढाइमा व्यस्त भएकाे हाेला भन्ने साेच्दै यसलाई सामान्य लिइन् । अनिता पनि बिसन्चाे थिइन् । समय नमिलेकाे अनुमान गर्दै उनले कल तथा अफलाइन मेसेज भने गरिरहिन् । तर उताबाट जवाफ आएन । आमा अत्तालेकी थिइन् तर मुनाले कुनै खबर गरिनन् । तर उल्टै मुनाकाे हत्याकाे खबर अनिताकाे कानसम्म पुग्याे । चार दिनपछि मात्र उनलाई मुनाकी साथीले उनको गोली प्रहारबाट हत्या भएको खबर सुनाएकी थिइन् । त्यसपछि अनिताकाे एक्लाे संसार नै तहसनहस भएकाे उनकाे भनाइ छ ।