असार मसान्त नजिकिएसँगै लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित हुन थालेका हुन्। ऋणपत्र जारी गरेका बैंक तथा वित्तीय संस्थाहरुले हरेक पुस मसान्त र असार मसान्तमा ब्याज दिने गर्दछन्। त्यही कारण लगानीकर्ताहरु अहिले ऋणपत्रतर्फ आकर्षित भएका हुन्।
यस दिन महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक लगायतका बैंकहरुको ऋणपत्रको मूल्य उच्च दरमा बढेको छ। ऋणपत्रबाहेक यस दिन दुइ कम्पनी मात्र मूल्य बढेका शीर्ष १० कम्पनीको सूचीमा परेको छ। जसमध्ये त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बिहीबार नेप्से परिसूचक ८.२४ अंक घटेर २०५१.९२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको ५० हजार २८१ पटकको कारोबारमा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको कारोबार रकम १२ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२३ प्रतिशत घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।