खराब कर्जा बढेपछि आत्मनिर्भर लघुवित्तको नाफा घट्यो

Jul 31, 2024 06:25 AM Merolagani



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (ANLB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ८६ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा उल्लेख्य बढेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापत १७ करोड ६४ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १० करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। त्यसैले मात्र सो अवधिसम्ममा लघुवित्त नाफामा देखिएको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५७ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ३७ पैसामा सीमित भएको छ। त्यस्तै, असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३३ रुपैयाँ ७७ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।