आँखुखोला जलविद्युतको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

Aug 11, 2024 06:51 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले आज (साउन २७ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ भने बाँकी रहेको ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्नेछ।




comments powered by Disqus

३ हजार माथि किन टिक्न सकेन बजार ?

Aug 18, 2024 05:44 PM

शेयर बजार ३ हजारको मनोवैज्ञानिक विन्दुमा पुगेर करेक्सन भएको छ । गत बिहीबारको बजार ३ हजारको विन्दुमा बन्द भएको थियाे । आज आईतबार सो विन्दुबाट ३४ अंकले करेक्सन भएको हो ।