लगानीकर्ताले बजारमा पाइला राख्नुभन्दा अघि भगवान श्री कृष्णबाट सिकौँ लगानीका ७ मन्त्र

Aug 26, 2024 02:02 PM Merolagani



आज मुलुकभर भगवान श्री कृष्णको जन्मोत्सव मनाइरहेको छ। शास्त्रमा उनलाई १६ कलाहरुमा निपुणता हासिल गरेका एक मात्र भगवानको संज्ञा दिइएको छ। महाभारत युद्धभन्दा अघि कुरुक्षेत्रमा उनले अर्जुनलाई जुन उपदेश दिएका थिए, त्यसलाई व्यवस्थापन र नीतिको सबैभन्दा ठूलो पुस्तक मानिन्छ।

श्री कृष्णको उपदेशमा केबल राजनीति या धर्ममा मात्र होइन, वित्तीय व्यवस्थापनमा पनि प्रयोग गरियो भने त्यो सफलताको गुरु मन्त्र बन्न सक्छ। उनकै उपदेशको ७ यस्तो सन्देश यहाँ प्रस्तुत गरिएको छ जसलाई लगानीकर्ताले प्रयोग गरे भने उनीहरुको रणनीति बलियो हुनुका साथै राम्रो प्रतिफल पनि प्राप्त गर्न सक्छन्।

१. लक्ष्य निर्धारण गर्नुहोस्

महाभारतको युद्धमा जसरी श्री कृष्णले पाण्डवहरुको सबै अड्चन र चुनौतिहरुको बावजुद जीतको लक्ष्यबाट भड्कन दिएनन्, त्यसरी नै यदि लगानीकर्ताहरुले पनि आफ्नो लक्ष्य बनाएर केबल त्यसलाई प्राप्त गर्न अडिग रहेमा उनीहरुलाई बजारमा आउने उतारचढावहरुको सामना गर्न सजिलो हुन्छ। लगानी सँधै लक्ष्य आधारित हुनुपर्दछ, जसले तपाईलाई आफ्नो रणनीति बलियो बनाउन मद्दत गर्दछ।

२. हरेक सानो लगानी ठूलो लक्ष्यको भर्याङ्ग हो

वृन्दावनमा भगवान कृष्णको बाल्यकाल अरुको घरमा मक्खन चोरीका लागि प्रसिद्ध थियो। उनीबाट बच्नका लागि मानिसहरु मक्खनको भाँडा उचाईमा बाँधेर राख्थे। यति गर्दा गर्दै पनि कृष्ण आफ्ना साथीहरुलाई भर्याङ्ग बनाएर त्यो भाँडासम्म पुग्दथे। एक लगानीकर्ताको रुपमा आफ्नो लक्ष्य जति नै माथि भएपनि हरेक लगानीलाई भर्याङ्ग मानेर सिपको माध्यमबाट साना साना कदम अघि बढाएर आफ्नो लक्ष्यसम्म पुग्ने प्रयास गरिरहनु पर्छ।

३. लोभ नगर्नुहोस्

भगवान कृष्णले गीतामा भनेका छन्, ‘जसरी अग्नी धुँवासँग थाक्छ र ज्ञान इच्छासँग, त्यसरी नै हाम्रो लक्ष्य पनि लोभका कारण भड्कन सक्छ।’ यदि बजारमा पैसा लगाउनु हुन्छ भने लोभ गरेर पैसा अड्काउनुभन्दा लक्ष्य पुरा हुने बित्तीकै त्यसलाई निकाल्नु उपयुक्त हुन्छ। त्यसैगरी, यदि सुरक्षित लगानीमा आफ्नो लक्ष्य पुरा हुने देखिन्छ भने लोभमा आएर त्यहाँबाट पैसा निकालेर शेयर बजारमा लगाउने जोखिम नउठाउनु राम्रो हुन्छ।

४. आफ्ना भावनाहरुलाई नियन्त्रणमा राख्ने

कुरुक्षेत्रमा अर्जुन आफ्ना प्रियजनहरुलाई देखेर भावनामा बगे र युद्ध गर्न अस्वीकार गर्दै हतियार बिसाएका थिए। यसरी नै, लगानी गर्ने समयमा भावनामा बगेर होइन तथ्य र तर्कहरु बुझेर काम गर्नुपर्छ। आफ्ना वित्तीय निर्णयहरु भावनामा बगेर होइन मानसिक दृढतासँग लिनुपर्छ। आफ्नो पोर्टफोलियोमा समावेश लगानीका विकल्पमा हिस्सा घटबढ गर्ने समयमा भावनाहरुमाथि नियन्त्रण हुनु पर्दछ।

५. जोखिम उठाउनबाट बच्नु

कुरुक्षेत्रको युद्धमा अर्जुन र कर्ण दुबैसँग बराबर शक्ति थियो। यति मात्र होइन कर्णसँग इन्द्रले दिएको दिव्यास्त्र पनि थियो जसले अर्जुनको प्राण पनि लिन सक्थ्यो। तर, भगवान कृष्णले उनलाई जोखिमबाट बचाए र अन्त्यमा अर्जुनलाई कर्णमाथि विजय पनि दिलाए। लगानीकर्ताले पनि आफ्नो पैसा त्यस्तो ठाउँमा लगाउनु हुँदैन, जहाँ अनावश्यक जोखिम छ। यदि स्मल क्यापमा राम्रो प्रतिफल प्राप्त भइरहेको छ भने लार्ज क्यापमा पैसा लगानी गरेर धेरै जोखिम उठाउनुको कुनै अर्थ छैन। यस्तो तबसम्म गर्नुहुँदैन जबसम्म आफुलाई जोखिमको स्तर कम महसुस हुँदैन।

 

६. आफनो लगानी रणनीति परिवर्तन गरिरहनु

गीतामा भगवान कृष्णले भनेका छन् कि जसरी मानिस पुराना कपडा छोडेर नयाँ धारण गर्दछ, त्यसरी नै आत्मा पनि पुरानो शरिर छोडेर नयाँ धारण गर्दछ। एक लगानीकर्ताले सँधै यो सिक्नु पर्दछ कि बजारमा आउने उतारचढावलाई ध्यानमा राख्दै आफ्नो लगानी रणनीति पनि परिवर्तन गर्नुपर्छ र आफ्नो पोर्टफोलियोमा नयाँ विकल्प समावेश गर्दै जानु पर्छ। लगानीकर्ताले जोखिम भएको स्टक निकालेर नयाँ र धेरै प्रतिफल दिने स्टकमा ध्यान दिनुपर्छ। लगानीको एक मूल मन्त्र परिवर्तन र लचकता हो।

७. वित्तीय ज्ञान बढाउनु

सय कौरव र उनीहरुको विशाल सेनाको विरुद्ध पाँच पाण्डव र उनीहरुको सानो सेनाले जीत हासिल गरेका थिए किनभने पाण्डवसँग ज्ञानले भरिपूर्ण श्री कृष्णको साथ थियो। कृष्ण चतुर र बुद्धिमान थिए र कुरुक्षेत्रको युद्धमा उनले नै पाण्डवहरुलाई मार्गदर्शन गरे। यसरी नै एक लगानीकर्ताले पनि बजारमा पाइला राख्नुभन्दा अघि त्यसको बारेमा जानकारी लिनु आवश्यक हुन्छ। लगानीकर्ताले लगानीको जटिलताहरु र त्यसको लाभ हानीको बारेमा जति जानकारी राख्न सक्यो त्यति नै उसलाई नाफा कमाउनु सजिलो हुन्छ र लक्ष्य पुरा गर्न पनि बाधा आउँदैन।

(अनुवादित)




comments powered by Disqus

गभर्नरको ‘सानो कमजोरी’ माथि नेपाली सेनाको ठूलो ‘एक्सन’ !

Aug 26, 2024 05:53 PM

कहिले काँहि ठूला काम गर्दा हुने सानो तिनो कमजोरीको ठूलो परिणाम भोग्नु पर्छ भन्ने पछिल्लो उदाहरण गभर्नर महाप्रसाद अधिकारी र  नेपाल राष्ट्र बैंक बनेका छन् ।