शेयर बजारलाई मात्र हेरेर ‘हाम्रै कारण अर्थतन्त्रमा उत्पात नै भइसक्यो’ भन्दै हर्ष बढाईं गर्न मिल्छ ?

Aug 29, 2024 03:21 PM Merolagani



बाबुराम ढकाल
केही दिनअघि शेयर सूचकांक ३ हजार माथि पुगेकाे थियाे । तर अहिले घटेर नेप्से २७५० अंक नजिक आइपुगेकाे छ । केही महिना अघि नेप्से १ हजार ९०० सय अंक नजिक थियाे । छाेटाे अवधिमा पूँजी बजार करिब १ हजार अंक बढेकाे छ र त्यसले लगानीकर्ताहरुलाई केही आशा दिलाएको छ ।

निश्चय पनि शेयर बजारले पछिल्लो पटक गति लिनुको पछाडि बर्तमान सरकार, त्यसमा पनि अर्थमन्त्री विष्णु पौडेलप्रति पूँजी बजारसँग सम्वन्धित सरोकारवाला पक्षहरुको अटुट विश्वास मुख्य कारण हो । ‘विष्णु पौडेल अर्थमन्त्री हुँदासम्म सरकार पूँजी बजारमैत्री बनिरहन्छ, सके सरोकारवालाहरुले चाहे अनुसारकै काम हुन्छ, त्यो नभए पनि बजारलाई आघात पुर्याउने काम हुँदैन’ भन्ने विश्वासका कारण कारोवारको मात्रा र अंक दुवै बढेको छ ।

त्यो सकारात्मक हो । तर, के त्यतिले मात्रै पुग्छ ? अहिलेसम्म लगानीकर्ताको हित, शेयर बजारको विकास र विस्तारको लागि अहिलेको सरकारले ‘गर्छाैं’ भन्दै भाषण गर्ने वाहेक अरु के काम गरेको छ ? लगानीकर्ता, सरोकारवालाहरुले सरकारले शंकाको लाभ दिएर बढाइदिएको हरियालीलाई ‘हाम्रै कारण अर्थतन्त्रमा उत्पात नै भइसक्यो’ भन्दै हर्ष बढाईं गर्न मिल्छ ? अहिले प्रधानमन्त्री, अर्थमन्त्रीदेखि उच्च पदस्त सरकारी अधिकारीहरुले नेप्से परिसूचकलाई देखाउँदै गरिरहेको हर्ष बढाईले अनेक प्रश्न उठिरहेको छ ।

र, प्रश्न उठिरहेको छ-भुक्ने कुकुरले टोक्दैन भन्ने उखानलाई यो सरकारले चरितार्थ त गर्दैछैन ?
प्रश्न किन पनि उठिरहेको छ भने अहिले मन्त्रीहरुको कुरै छोडौं, प्रधानमन्त्री दिनहुँ भ्रष्टाचार सहन्न, गर्न दिन्न भन्नेदेखि रोजगारी सृजनासम्मका किसानका समस्या समाधानदेखि अर्थतन्त्रलाई रकेटको गतिमा विस्तार गर्नेसम्मका विषयमा बोलीरहेका छन्, भाषण गरिरहेका छन् ।

तर, काम चाँहि के गरिरहेका छन् ? कसैले थाहा नपाउने गरि भित्रभित्रै गरेको भए उनीहरु जानुन तर देखिने गरि केही भएको छैन । एउटा क्षेत्रमा मात्रै होइन, कुनै पनि क्षेत्रमा ‘यो चाँहि गरेकै हो’ भन्ने गरि काम भएको छैन । लगानीकर्ताले दिएको शंकाको लाभका कारण बढेको नेप्से, संयोगले बढेको साउन महिनाको राजश्व, राष्ट्र बैंकमा थुप्रिएको पैसालाई देखाएर सरकारले काम गरेको भन्न मिल्दैन । संयोगले काकताली मिलेर भएका एकाध कामलाई लिएर सरकार, प्रधानमन्त्री र मन्त्रीहरुको ‘वाख्खै वाख्खै’ गर्न सकिदैन, गर्नु पनि हुँदैन । देखिने गरि, अनुभूती गरि जुन दिन काम हुन्छ, त्यही दिन जे जे भन्दै, जे जे गर्दै जय जयकार गर्नु पर्छ गरौंला ।

समकालिन नेताहरुमा प्रधानमन्त्री ओली सबैभन्दा अध्ययनशील,तर्कशिल, दृष्टिकोण भएका र भाषणकलामा निपूर्ण नेता हुन् भन्नेमा शंका छैन । तर, उनको अर्काे छवि काम गर्ने भन्दा धेरै बोल्ने भन्ने छ । र, अहिले पनि देखिने गरि काम गर्नुभन्दा दिनहुँ जसो यसो गर्छु र उसो गर्छु भन्दै भाषणवाजीमै रमाइरहेका छन् । भाषणबाजीले नपुगेर फेसबुकबाजी र ट्विटरबाजी (अब टिकटकमा पनि त्यस्तै व्यस्त हुने हुन कि कुन्नी ?) मा रमाइरहेका छन् । जबकि अहिले देशको आवश्यकता र जनताको चाहाना मन्त्री, प्रधानमन्त्रीहरुको भाषण सुन्ने, अर्ति उपदेश सुन्ने होइन, काम गरेको देख्ने र परिणाममा रमाउने हो । तर, विडम्बना स्वंय प्रधानमन्त्री चाहिँदा नचाहिँदा कार्यक्रममा गएर विहारी पण्डाको शैलीमा प्रवचन दिइरहेका छन् ।

प्रधानमन्त्रीज्यू ! तपाईका प्रवचनहरु पछि सुन्दा पनि हुन्छ, चाकडीबाजहरुको चौघेराबाट माथि उठेर हेर्नुस्, तपाईका पार्टीका कार्यकर्ता, समर्थक र जनताहरु काम गरेको हेर्न चाहान्छन् भन्ने देख्नुहुनेछ । कस्तो विडम्बना, दिनहुँका प्रवचनहरु सुन्दा हामी थाक्यौं, तर बोलेर तपाई थाक्नु भएको छैन ।
त्यसैले काम शुरु गरौं प्रधानमन्त्रीज्यू, प्रवचन पछि सुनाउनु होला ।

 




comments powered by Disqus

परराष्ट्र मन्त्री डा. आरजु राणाको भ्रमण लगत्तै भारतद्वारा नेपाली सिमेन्ट निकासीमा ‘अघोषित अवरोध’, नेपाल भारत सम्वन्ध के होला?

Aug 30, 2024 06:00 AM

भारतले नेपालमा उत्पादित समानहरुलाई आफ्नो देश प्रवेशमा ‘अघोषित अवरोध’ गर्न थालेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा भारत भ्रमणबाट फर्किएको १५ दिन नवित्दै सिमा नाकाहरुमा कडाई गर्दै नेपालमा उत्पादित समान आफ्नो देशमा प्रवेश गर्न अवरोध गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।