नेपाल राष्ट्र बैंकले आफ्नो २०७८ सालको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पुँजीको १ प्रतिशतसम्म मात्र शेयर बिक्री गर्न पाउने भनेर कडा नियम अघि सार्यो। त्यस पछि बैंक वित्तीय संस्थाले २०७८ को मौद्रिक नीति अघि जसरी खुलेर शेयर ट्रेडिङ गर्ने गरेका थिए त्यसमा लगाम लाग्यो। शेयर किन/बेचमा लगाम लागेपछि बैंकहरुको शेयर ट्रेडिङ ह्वात्तै घट्यो। जसले दोस्रो बजार समेत प्रभावित भयो।
शेयर बजार असाध्यै धेरै घट्न पुग्यो भने बैंकहरुको लगानी समेत जोखिममा पर्यो। चौतर्फी रुपमा बैंकहरुले शेयर किन/बेच गर्न पाउने सीमा बढाउनु पर्ने दबाब सिर्जना भए। जसले गर्दा २०८१ सालको मौद्रिक नीतिमा सुधार गर्दै, नेपाल राष्ट्र बैंकले बैंकहरूलाई एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्ने अनुमति दियो। त्यसपछि पुन: वाणिज्य बैंकहरुले शेयर बजारमा सक्रियता बढाउन थालेका छन्।
(नेपाल राष्ट्र बैंकको क्यापिटल एडुकेसि फ्रेम वर्कअनुसार प्राथमिक पूँजी भनेको चुक्ता पुँजी (Paid-up Capital) लगानीकर्ताले बैंकमा हालिसकेको वास्तविक पूँजी। प्रिमियम (Share Premium) शेयरको अंकित मूल्यभन्दा बढी मूल्यमा बेच्दा आएको अतिरिक्त आम्दानी। जगेडा कोष (Statutory Reserve) बैंकले आफ्ना नाफाबाट छुट्टाएको रकम, जुन कुनै उद्देश्यको लागि सञ्चित गरिएको हुन्छ। अवितरित नाफा (Undistributed Profit) बाँडफाँट नभएको नाफा, जुन पुनः लगानी वा सञ्चित गर्न सकिन्छ। गैर-नियन्त्रित स्वामित्वको हिस्सा (Minority Interest) सहायक कम्पनीमा अरूको स्वामित्व हिस्सा। माथि उल्लेखित सबैको जोड सम्झनु पर्छ )
बैंकहरुले शेयर बजारमा ट्रेडिङ गरेर के कति नाफा/घाटा भयो भनेर उनीहरूले नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने हुन्छ। नेट ट्रेडिङमा बैंकहरुले देखाएको विवरण अनुसार नौ महिनाको अवधिमा बैंकहरुले शेयर ट्रेडिङबाट करिब सात अर्ब रुपैयाँ नाफा गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा शेयर ट्रेडिङबाट ६ अर्ब ८८ करोड २४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेका हुन्। बैंकहरुले गरेको उक्त आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा औसत ५५.६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले शेयर बजारबाट चार अर्ब ४२ करोड २२ लाख ८५ हजार रुपैयाँ मात्रै आम्दानी गरेका थिए।
नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने लचक नीति अघि सारेपछि बैंकहरुको शेयर ट्रेडिङबाट हुने आम्दानी ह्वात्तै बढेको हो। गत वर्षको सोही अवधिको नाफा भन्दा यस वर्ष उनीहरूको शेयर ट्रेडिङबाट हुने आम्दानी मात्रै औसत ५५.६३ प्रतिशतले बढेको हो। गत वर्षसम्म चैतसम्म शेयर ट्रेडिङबाट हुने आम्दानी नकारात्मक रहेको कृषि विकास बैंकले समेत यस वर्षको चैतमा नाफा बढाएको छ। गत वर्षको चैत र यस वर्षको चैतसँग तुलना गर्दा सबैभन्दा बढी प्रतिशतले नाफा बढाउनेमा कृषि विकास बैंक नै छ। उसले शेयर ट्रेडिङबाट हुने नाफा ८६०.६० प्रतिशतले बढाएको छ। गत चैतमा उसको तीन करोड ८० लाख नकारात्मक रहेकोमा यस चैतमा उसले २८ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ। यस अवधिमा एक मात्रै बैंकको नाफा प्रभावित भएको छ। जसमा कुमारी बैंक छ। गत चैतको तुलनामा उसको नाफा ८.७० प्रतिशतले घटेको छ।

रकमको आधारमा हेर्ने हो भने सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक छ। उक्त अवधिमा बैंकले ६५ करोड ८९ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा ४९.५२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४४ करोड ७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको थियो।
बैंकहरुले सहुलियत प्राप्त गरेसँगै उनीहरूको शेयर बजारमा सक्रियता बढेको ट्रेडिङ इनकमले पुष्टि गर्छ। तर बैंकहरुलाई अहिले जसरी २० प्रतिशतको सीमा तोकिएको छ। त्यसमा पनि अझै सहुलियत दिनु पर्ने माग लगानीकर्ताहरूले गर्दै आइरहेका छन्। संस्थागत लगानीकर्ताको उपस्थिति बलियो बनाउन र दोस्रो बजारमा माग बढाउन पनि बैंकहरुलाई शेयर ट्रेडिङमा अझै लचकता दिनु पर्ने लगानीकर्ताहरूको माग हो। तर राष्ट्र बैंकले भने त्यस विषयमा सम्बोधन गरेको छैन। नेपाल राष्ट्र बैंकले आउने मौद्रिक नीति मार्फत सम्बोधन गर्ने अपेक्षा लगानीकर्ताहरूले गरिरहेका छन्।