गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बिक्रीबापत ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ। जसका कारण समीक्षा अवधिमा कम्पनीको खुद नाफा २६ करोड ६५ लाख रुपैयाँ घटेर ७९ करोड २४ लाखमा सीमित भएको छ।
हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको रोकथापको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनका कारण नियमित उद्योग सञ्चालन, कारोबार हुन नसक्दा उत्पादन तथा बिक्रीवितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीले बताएको छ। यसका साथै बजारमा भईरहेको सिमेन्ट उत्पादकहरु बीचको प्रतिस्पर्धा र खपतको तुलनामा भएको अत्याधिक उत्पादनका कारण बजारमा बिक्रीमूल्यमा ह्रास आउने गरेको कम्पनीले बताएको छ।
४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो भने शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ नै रहेको थियो।
कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ २८ पैसा र प्रतिशेयर कुल सम्पत्तीको मूल्य ३०९ रुपैयाँ १ पैसा रहेको थियो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका यस्ता अनुपात क्रमशः ३२ रुपैयाँ ९ पैसा, १९९ रुपैयाँ ८८ पैसा र ३०२ रुपैयाँ ८७ पैसा रहेको थियो।