चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट २४.२३ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १०.५० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८३.८८ प्रतिशत घटेको छ। निष्क्रिय कर्जा ३.५५ प्रतिशतविन्दु बढेर ७.१४ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ९२ हजार रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा उल्लेख्य घट्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ ७२ पैसा घटेर ५ रुपैयाँ ९३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५३.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २ अर्ब ५७ करोड ९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको निक्षेप तथा सापटी १.६४ प्रतिशत बढेको छ भने कर्जा २ प्रतिशत घटेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638039262349843210.jpg)