गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कर्जा प्रवाह र ब्याजदर बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट आम्दानी १६८.२५ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४०.६० प्रतिशत बढेको छ। यद्यपि, कम्पनीको लाभांश आम्दानी र अन्य आम्दानी भने समीक्षा अवधिमा घटेको छ।
कम्पनीले गत असार मसान्तसम्ममा जलविद्युत परियोजनाहरुमा ९ अर्ब २८ करोड ऋण प्रवाह गरिसकेको छ। चौथो त्रैमासमा मात्रै कम्पनीले ५३ करोड थप ऋण प्रवाह गरेको छ भने १ करोड ६५ लाख रुपैयाँ ऋण असुली गरेको छ। निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजना तथा कम्पनीहरुमा कम्पनीले ३ अर्ब २३ करोड स्वपूँजी लगानी गरेको छ। चौथो त्रैमासमा मात्र कम्पनीले १० करोड थप शेयर लगानी गरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४५ पैसा बढेर ६ रुपैयाँ ८ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.२७ गुणा रहेको छ।
२२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ९१ करोड २६ लाख रुपैयाँ सञ्चित छ।
![](https://images.merolagani.com/Uploads/Repository/638276852864594400.png)